नेपालको भोकमरी सूचकाङ्कको अवस्था सुधार

काठमाडौं ।  विश्वव्यापी भोकमरीको सूचकाङ्क (जिएचआई) मा नेपालको अवस्था सुधार देखिएको छ । ग्लोबल हङ्गर इन्डेक्स २०२३ र वेल्टहङ्गर हिल्फेद्वारा संयुक्त रूपमा प्रकाशित वार्षिक प्रतिवेदनमा यस्तो सुधार देखिएको हो ।

जिएचआईले १२५ राष्ट्रमा गरेको अध्ययनमा नेपाल ६९ औँ स्थानमा रहेको छ । अङ्कका आधारमा नेपालले १५ अङ्क प्राप्त गरेको छ । अघिल्लो वर्ष नेपालको अवस्था ८१ औँ नम्बरमा रहेको थियो । सार्क राष्ट्रमा भने नेपाल दोस्रो स्थानमा छ ।

यस अध्ययनमा बालबालिकामा हुने कुषोषण, पुड्कोपन, ख्याउटेपन र बाल मृत्युदरलाई भोकमरीको सूचक मानिएको थियो । नेपालमा १५ प्रतिशत जनसङ्ख्याले मात्रै पेटभर खान नपाउने अवस्था रहेको अध्ययनले देखाएको छ । शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा विश्वका १२५ राष्ट्र समेटिएका छन्, जसको पहिलो स्थानमा बेलारुस छ । यसले बेलारुस विश्वकै कम भोकमरीयुक्त देश रहेको जनाउँछ । सबैभन्दा अन्तिम स्थानमा भने मध्य अफ्रिका गणतन्त्र परेको छ ।

प्रतिवेदनले १० प्रतिशतभन्दा कम नागरिकमा मात्रै पर्याप्त खाद्य सुरक्षा नपुगेको देशलाई गाढा हरियो, १० देखि १९ सम्मलाई फिक्का हरियो, २० देखि ३४ प्रतिशतसम्मलाई पहेँलो, ३५ देखि ४९ प्रतिशतसम्मलाई खैरो र ५० प्रतिशतभन्दा बढीलाई रातो सूचीमा राखेको छ । जसमध्ये नौ मुलुक खैरो सूचीमा रहेका छन् । त्यस्तै ३४ देश पहेँलो सूचीमा छन् । ३७ देश फिका हरियो तथा ५१ देश गाढा हरियो सूचीमा छन् । गाढा हरियो सूचीमा परेकामध्ये पनि २० देशमा खाद्य सुरक्षा नपुगेका नागरिकको सङ्ख्या ५ प्रतिशतभन्दा कम छ । भारत सूचीको १११ औँ स्थानमा छ । अघिल्लो वर्ष भारत १०७ औँ स्थानमा रहेको थियो । त्यस्तै अफगानिस्तान भने सूचीको ११४ औँ स्थानमा छ । माल्दिभ्स र भुटान भने रिपोर्टमा समेटिएका छैनन् । छिमेकी मुलुक चीन कम भोकमरीयुक्त देशको चौथो स्थानमा छ । चीन २०२२ मा पनि चौथो स्थानमै थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर