दोस्रो जितसँगै बागमती सेमिफाइनलमा, सन्दीपले फेरि लिए ४ विकेट
काठमाडौं । पोखरामा जारी केपी ओली कप टि- २० क्रिकेट प्रतियोगिताको सेमिफाइलनमा बागमती प्रदेश प्रवेश गरेको छ । शुक्रबार कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै बागमती प्रदेश केपी ओली कपको सेमिफाइलनमा प्रवेश गरेको हो ।
बागमती प्रदेशले दिएको १ सय ९० रनको बलियो लक्ष्य पछ्याएको कर्णाली प्रदेश १७ ओभर ३ बलमा ९९ रनमै समेटियो । कर्णालीलाई सस्तोमै समेट्न बागमतीका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए ।
३ ओभर ३ बल बलिङ गरेका कप्तान सन्दीपले ९ रन खर्चेर ४ विकेट लिए । प्रतिश जिसी, रिजन ढकाल, सुभाष खत्री र इशान पाण्डेले १-१ विकेट लिए । कर्णालीका लागि कप्तान रविन्द्र शाही २०, अर्जुन घर्ती २४, बिपिन शाहीले २१ र दीपेन्द्र रावतले १२ रन जोडे ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रीकेट मैदानमा बिहिवारबाट सुरु भएको प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता छ ।प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्नेछन् ।