इजरायल–हमास युद्धविराम लागूभएसँगै विपिनको रिहाइको पहल

काठमाडौं । इजरायल र हमासबीचको युद्धविराम आजदेखि लागू हुने भएको छ । इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले आजदेखि युद्ध विराम हुने जनाएको हो ।

चार दिनको युद्धविराममा हमासले ५० जना बन्धकलाई रिहाइ गर्ने सहमति भएको छ । त्यसपछि इजरायलले आफ्नो जेलमा रहेका १ सय ५० जना प्यालेस्टेनीलाई रिहाइ गर्नेछ । कतारका अनुसार  हमासले बन्धक बनाएकामध्ये १३ जना आजै रिहाइ हुनेछन् । रिहाइ हुनेको नाम भने  सार्वजनिक गरिएको छैन ।

कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले रिहाइ हुनेमा महिला र बालबालिकालाई पहिलो प्राथमिकता दिइएको बताउनुभएको बीबीसीले जनाएको छ । यसअघि बिहीवारदेखि सङ्घर्षविराम हुने र केही बन्धकहरूको अनि केही प्यालेस्टीनी बन्दीहरूको रिहाइ हुने भनिए पनि त्यसमा ढिलाइ भएको थियो ।

यसैबीच इजरायल र हमास समूहबीच आजदेखि लागू हुने युद्धविराममा नेपालले विपिन जोशीको रिहाइका लागि पहल थालेको छ । चार दिने युद्धविरामकै क्रममा विपिनको रिहाइका लागि सरकारले पहल थालेको हो ।

परराष्ट्रमन्त्री एनपी साउदले नेपालमा रहेको इजरायली राजदूत हनान गोदेरलाई भेटेर युद्धविरामको यस अवधिमै विपिनको रिहाइका लागि पहल गरिदिन अनुरोध गर्नुभएको छ । हिजो मन्त्रालयमा भएको भेटमा उहाँले चार दिने युद्धविरामको क्रममा जोशीको उद्धारका लागि पहल गरिदिन अनुरोध गर्नुभएको हो ।

जवाफमा राजदूत गोदेरले यसलाई इजरायल सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । गएको असोज २० गते हमासले इजरायलमा आक्रमण गर्ने क्रममा विपिनलाई बन्धक बनाएर गाजातर्फ लगेको थियो । अहिलेसम्म उहाँको अवस्था थाहा हुन सकेको छैन । इजरायली सेनाले भने गाजामा रहेको एक अस्पतालमा विपिन सुरक्षित रहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर