राष्ट्रियसभा चुनाव गराउन सरकारलाई निर्वाचन आयोगको सुझाव

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २० गते समाप्त हुने राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न आज सरकारलाई परामर्श दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आयोगका पदधिकारीले भेटेर उक्त परामर्श दिएको र प्रधानमन्त्री प्रचण्डले आयोगको सिफारिसअनुसारकै मितिमै हुने गरी निर्वाचनको मिति तोक्ने उल्लेख गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम राष्ट्रियसभाका एकतिहाइ सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले (माघ १५ गतेसम्म) निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनीत एक गरी २० सदस्यको पद रिक्त हुँदै छ ।

राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एकतिहाइ सदस्य पदको निर्वाचन हुँदै आएको छ । राष्ट्रिय जनगणना २०७८ को नतिजाबमोजिम राष्ट्रियसभा सदस्यको अब रिक्त हुने पदको निर्वाचनका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगबाट निर्णय भएको भइसकेको छ ।

निर्वाचन ऐन, २०७५ मा राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष तथा उपाध्याक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने निर्वाचक मण्डलको व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर