आज खगराज अधिकारी बिदा हुँदै, गण्डकीको मुख्यमन्त्रीमा माओवादी आउँदै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज (शनिबार) विश्वासको मत लिने घोषणा गरेता पनि प्रदेशसभाको गठनविधि हेर्दा उनले उक्त विश्वासको मत नपाउने लगभग पक्का भएको छ ।

मुख्यमन्त्री अधिकारीले आज दिउँसो ३ः०० बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने विषयलाई प्रदेशसभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि मुख्यमन्त्रीले पत्रमार्फत सूचना यसअघि नै दिइसकेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले बताइसकेका छन् ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।

संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ। ६० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ३१ सदस्य आवश्यक पर्छ। गत पुस २५ मा एमालेसहित माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा अधिकारी गण्डकीको मुख्यमन्त्री बनेका थिए । आज विश्वासको मत नपाइपछि अधिकारीले राजीनामा दिने र त्यसपछि नयाँ सरकार गठनको बाटो खुल्नेछ । यसअघि नै नेकपा माओवादी, नेपाली कांग्रेस र समाजवादी दलबीच आलोपालो सरकार चलाउने सहमति भइसकेको छ । पहिलोपल्ट सरकारको नेतत्व माओवादीले गर्ने समझदारी माओवादी र कांग्रेसबीच भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर