रुकुमपश्चिममा जिप दुर्घटना : घाइते दुई जनाको मृत्यु

काठमाडौं । रुकुमपश्चिममा जिप दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतीक बुढा छन् । बालक बुढाको उपचारका लागि एम्बुलेन्समार्फत सुर्खेत लैजाँदै गर्दा सल्यान जिल्लाको नेटा भन्ने ठाउँमा र ओलीको चौरजहरी अस्पतालमै मृत्यु भएको चौरजहारी नगरपालिकाका नगरप्रमुख पुष्प वादीले जानकारी दिए ।

उनका अनुसार अन्य पाँच जनाको पनि अवस्था गम्भीर रहेकाले गृहमन्त्रालयमा समन्वय गरेर काठमाडौंबाट हेलिकप्टर आउन लागेको र सोही हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको नगरप्रमुख वादीले जानकारी दिए । सोमबार बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदुरमुकाम खलङ्गा आउने क्रममा चौरजहारी–८ गैरीजिउलामा लु. १ ज २२९७ नम्बरको जिप दुर्घनामा परेको थियो । जिपमा सवार चालकसहित २२ जना घाइते भएका थिए । जिप मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने गैरीजिउला सडकखण्डबाट भेरी नदीमा खसेको थियो ।

घाइतेको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ । जिपमा क्षमताभन्दा बढी सवारी चढाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले आँकलन गरेको छ । यसबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर