अपर तामाकोशीको नाफा १ अर्ब ७२ लाख रुपैयाँभन्दा बढी

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको तीन महिनामा १ अर्ब ७२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस वर्ष कम्पनीले गत वर्षकोभन्दा बढी नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ७९ करोड ७७ लाख रुपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको थियो ।

यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी बढेको र वित्तीय खर्च घटेकाले खुद नाफामा बृद्धि देखिएको हो । गत वर्ष ३ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको विद्युत विक्री गरेको कम्पनीले यस वर्ष ३ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको विद्युत विक्री गरेको हो । वित्तीय खर्च भने गत वर्ष १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी भएकोमा यस वर्ष १ अर्ब ५९ करोड रुपैयाभन्दा बढी भएको छ । कम्पनीको दीर्घकालीन कर्जा रकम गत वर्षभन्दा शून्य दशमलव ८४ प्रतिशत कम ७३ अर्ब १ करोड रूपैयाँभन्दा बढी र अल्पकालिन कर्जा रकम ४७ दशमलव ४३ प्रतिशत कम ३ अर्ब ३ करोड रुपैयाँभन्दा बढी कायम भएको छ ।

कम्पनीको चुक्तापूँजी हाल १५ अर्ब ९९ करोड ९ लाख रुपैयाँ छ । रिटेन्ड अर्निङ भने ६ अर्ब २४ करोड रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । प्रतिशेयर आम्दानी ६ रुपैयाँ ३० पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ६० रुपैयाँ ९७ पैसा छ । यस कम्पनीअन्तर्गत निर्माण गरिएको ४५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट २०७८ साल भदौ २५ गतेदेखि व्यापारिक उत्पादन भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर