सवस्टेसन निर्माण गर्नेक्रममा स्थानीय र सुरक्षाकर्मीबीच झडप

काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिका–३ लप्सीफेदी क्षेत्रमा सबस्टेसन निर्माण र सुरक्षा पोष्ट स्थापना गर्न गएका सुरक्षाकर्मीमाथि स्थानीयबासिन्दाले ढुङ्गामुढा गरेका छन् ।

बेस क्याम्प स्थापना गर्न जाँदा शुक्रबार त्यस क्षेत्रका केही स्थानीयले रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीलाई ढुङ्गामुढा गरेका हुन् । स्थानीयको आक्रमणबाट केही सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरीले घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पटकपटक वार्ता र संवाद गरिए पनि सहमति नभएपछि सरकारले शङ्खरापुर नगरपालिका–३ लप्सीफेदी क्षेत्रमा निर्माणाधीन सबस्टेसन र प्रसारण लाइन निर्माणको सुरक्षार्थ प्रहरी पोष्ट राख्ने निर्णय गरेको छ ।

जिल्ला सुरक्षा समिति, काठमाडौंको निर्णयबाट त्यहाँ निर्माण हुने विद्युत् सबस्टेसन र त्यस क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट राख्ने निर्णय गरेको थियो ।

नेपाल विद्युत् प्राधिकरणले शङ्खरापुर नगरपालिका–३ मा रहेको बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाको विद्युत् काठमाण्डौ उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि ४००-२२०-१३-११ केभी सबस्टेसन निर्माण गर्न लागिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर