वाणिज्य बैंकहरुको मङ्सिरका लागि नयाँ ब्याजदर लागू

काठमाडौं ।  आज शुक्रबारदेखि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर लागू भएको छ । बैंकहरुले मङ्सिर महिनाका लागि नयाँ ब्याजदर निर्धारण गरी लागू गरेका हुन् । वाणिज्य बैंकहरुमा अधिकांशले बैंकको ब्याजदर घटाएका छन् । कात्तिकको तुलनामा मङ्सिरमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ०.३३१६ प्रतिशत र संस्थगत मुद्दतीमा औसतमा ०.३०६६ प्रतिशत बिन्दुले ब्याजदर घटाएका हुन् ।

कात्तिक महिनामा बैंकहरूको औसत ब्याजदर व्यक्तिगततर्फ ९.९६४ प्रतिशत र संस्थागत निक्षेपतर्फ ७.८५२६ प्रतिशत रहेको रहेको थियो । व्यक्तिगततर्फ २० वटा वाणिज्य बैंकमध्ये १३ वटाले ब्याजदर घटाउँदा एउटा बैंकले मात्रै ब्याजदर बढाएको छ । कात्तिक महिनाकै ब्याजदरलाई कायम राख्ने बैंकहरु ६ वटा बैंक छन् । माछापुच्छ्रे बैंकले भने केही प्रतिशत ब्याजदर वृद्धि गरेको छ । कात्तिकमा माछापुच्छ्रेले व्यक्तिगत निक्षेपतर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.४९ प्रतिशत ब्याजदर तोकेको थियो । तर मङ्सिरका लागि लागि भने बैंकले व्यक्तिगत र संस्थागततर्फ क्रमशः १०.६०३ प्रतिशत र ८.६०३ प्रतिशत कायम गरेको छ ।

माछापुच्छ्रे बैंकले मङ्सिरमा वचतमा ५.६० देखि ८.६० प्रतिशत ब्याज दिने भएको छ । मङ्सिरमा ब्याजदर घटबढ नगर्नेमा नेपाल बैंक, सिटिजन्स, सिद्धार्थ, लक्ष्मी सनराइज, कुमारी र प्राइम कमर्सियल बैंक छन् । यी बैंकले भने कात्तिकको ब्याजदरलाई निरन्तरता दिने भएका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकले मङ्सिर महिनामा व्यक्तिगत निक्षेपतर्फ ८.९७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत, नबिल बैंकले व्यक्तिगततर्फ ९.१ प्रतिशत र संस्थागततर्फ ७.१ प्रतिशत, नेपाल इन्भेष्टमेण्ट मेगाले व्यक्तिगततर्फ ९.५१ प्रतिशत र संस्थागततर्फ ७.५१ प्रतिशत, कृषि विकासले व्यक्तिगततर्फ ९.५१२ प्रतिशत र संस्थागततर्फ ७.५१२ प्रतिशत, ग्लोवल आइएमईले व्यक्तिगततर्फ ९.६ प्रतिशत र संस्थागततर्फ ७.६ प्रतिशत ब्याज दिने भएका हुन् ।

यसैगरी, हिमालयन बैंक र नेपाल एसबिआईले मङ्सिर महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ १०.६३ प्रतिशत र संस्थागततर्फ ८.६०३ प्रतिशत ब्याज दिने भएका हुन् । सबैभन्दा धेरै ब्याजदर एनआईसी एशिया बैंकले २.०३५ प्रतिशतले घटाएको छ । मङ्सिरका लागि बैंकले व्यक्तिगततर्फ ८.९६८ प्रतिशत र संस्थागततर्फ ६.९६८ प्रतिशत ब्याज दिने भएको हो । एनएमबि बैंकले व्यक्तिगततर्फ ९.७६ प्रतिशत र संस्थागततर्फ ७.७६ प्रतिशत ब्याजदर कायम गरेको छ । कात्तिकको तुलनामा बैंकले ब्याजदर १.२४३ प्रतिशतले घटाएको हो । मङ्सिरका लागि एभरेष्ट बैंक, प्रभु, सानिमा, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर तोकेका छन् । यी बैंकहरूले ब्याजदर पनि गत कात्तिकको तुलनामा ०.२२४ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर