भक्तपुरमा कठिन चीवर दान तथा शोभायात्रा सम्पन्न

भक्तपुर।  भक्तपुरमा कठिन चीवर दान तथा शोभायात्रा बिहीबार सम्पन्न भएको छ। कठिन दाता भिक्षु समतेच बरधीञाणमुनी (समछाय) तथा थार्इ उपासक उपासिकाहरुको विशेष उपस्थितिमा कार्यक्रम भएको हो। दानमा थाइल्याण्डका समछायसहित बिभिन्न टोलीहरुबाट एक सय भन्दा वढी उपासक उपासिका तथा सामान्य थाइल्याण्डवासीहरु सहभागी थिए।

आयोजक मुनि विहार भक्तपुर व्यवस्थापन समितिका उपसचिव शिव वालाका अनुसार विदेशबाट विशिष्ट भिक्षुहरु सहभागी भर्इ कठिन चीवर दान कार्यक्रम हुन दुर्लभ जस्तै हो। यही दुलर्भ कार्यक्रम भक्तपुरमा भएको हो। मुनि विहार दायक सभा भक्तपुर नगरपालिका–७ इनाचोको आयोजनामा उत्सव भएको हो। कार्यक्रमअघि थाइल्याण्डको टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायतले स्वागत गरेका थिए।

यसअघि चीवर शोभायात्रा गरिएको थियो। नगरको खौमाध्वाका (प्रवेशद्वार) नगर परिक्रमा गरी इनाचोस्थित रहेको मुनि विहारमा टोली पुगेको थियो। विशला बौद्धमार्ग भेला कार्यक्रमको क्रममा प्रमुख अतिथि कठिन दाता भिक्षु समतेच बरधीञाणमुनीले कठिन चीवर दान विधि, ओवाद उपदेश दिएका थिए। कार्यक्रमको क्रममा विनयमुख पुस्तक विमोचन गरिएको थियो।

साथै रौतहटको चन्द्रपुर–१ मा निर्माण हुने गुल्म राजा बुद्ध विहार फरेस्टको शिलान्यास पनि गरिएको थियो। साथसाथै कार्यक्रमस्थलमा बोधीवृक्ष रोपन गरिएका थियो। साथसाथै बरवैरी विनाश भगवानको हस्तान्तरण, नेपाल–थार्इ मैत्री भवनको उदघाटन गरिएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलगायतका विशिष्ट व्यक्तिहरु पनि सहभागी थिए।

कठिन चीवर दान एउटा धार्मिक उत्सव हो। यसले बुद्ध शासनका चार पाङग्रा भिक्षु, भिक्षुणी, उपासक, उपासिकाहरुलाई एक ठाउँमा जम्मा हुने एक वहुमुल्य अवसर प्रदान गर्दछ। यसमा धेरै टाढा टाढाबाट भिक्षुहरु, गुरुआमाहरु, उपासक, उपासिकाहरु एक ठाउँमा जम्मा हुने हुन्छ। यसले गर्दा एउटा रौनक, शक्ति एकता उत्पन्न हुन्छ। यस सन्दर्भमा कठिन उत्सव शासनको लागि ठूलो शक्ति, कोशेढुंगा सावित हुन्छ।

यो उत्सवको भौतिक भन्दा अध्यात्मिक पक्ष धेरै महत्वपूर्ण छ। तीन महिनाको वर्षावास सम्पन्नता माथि यो कथिन चीवर दान अडिएको छ। किसानलाई वर्षायाम कति महत्वपूर्ण छ, त्यस्तै भिक्षु भिक्षुणी उपासक उपासिकाहरुको लागि यो वर्षावासको समय त्यति नै महत्वपूर्ण हुने बताइन्छ।

उपसम्पदा भिक्षुहरुले हरेक वर्ष तीन महिनाको वर्षाबास अधिष्ठान विनयपूर्वक सम्पन्न गरेको दिन संघ पवरणा गरेदेखि एक महिनाको अवधिभित्र एउटा विहारमा एकपटक आयोजना गरिने विशेष चीवर दान उत्सवलाई कथिन चीवर दान उत्सव भनिन्छ। विशेष गरी यो असार पूर्णिमाको दिन संघ उपोसथ गरेबाट सुरुवात भएर आश्विन पूर्णिमासम्ममा सम्पन्न हुन्छ।

यो कथिन चीवर उत्सव साधारण रुपमा गर्न नसकिने, विशेष योग्यता पुर्‍याउनुपर्ने हुनाले यसलाई कठिन भनिन्छ। तर कठिन नेपाली कठिन शब्द नभएकोले गर्नै नसकिने गाह्रो भन्ने अर्थ लाग्दैन। यसको विशेष अर्थ चाहिँ दृढ, भरिलो, दरिलो, गुणसम्पन्न, ठोस भन्ने हो।

कथिन चीवर उत्सव मनाउन निम्न शर्तहरु पूर्ण भएको हुनुपर्छः

– वर्षावास बसेको हुनुपर्ने।

– वर्षावास बसेर पनि वर्षावासको नियम पूरा हुनुपर्ने वा सप्ताहकरणमा कुनै त्रुटि हुनु हुँदैन ।

– वर्षावास समाप्त भयो कथिन चीवर दान उत्सव गर भनेर वर्षावास बस्ने भिक्षुले भन्न पाउँदैन ।

– उपासक, उपासिकाले मात्र स्वैच्छाले चाहेमा कठिन गराउन सक्छ । उचित तरिकाबाट प्राप्त चीवर हुनुपर्छ (दातालाई
कुनै करकाप नगरिएको स्वैच्छाले दान गरिएको जस्तै आकाशबाट पानी झरे झैं हुनुपर्छ) ।

–जुन कठिनको उत्सवको महिना हो त्यस एक महिना अवधिमा एउटा मात्र कथिन चीवर दान उत्सव मनाउन सकिन्छ।

– कम्तीमा उपसम्पन्न ५ वर्गीय भिक्षु संघहरु पूरा भएको हुनुपर्ने । बढीमा १,००,००० भए पनि हुन्छ ।

कठिन दान

दाताहरुले कठिन चीवर दान गरिसकेपछि यसले मूर्तरुप लिन यो छ वटा प्रक्रिया पूरा गर्नुपर्छ

– दाताले कथिन चीवर भिक्षु संघलाई प्रदान गर्ने ।

– संघबाट एक वर्गी उपयुक्त भिक्षुको छनोट गर्ने ।

– कठिन चीवरलाई व्यक्तिगत चीवरमा परिणत गर्ने ।

– कठिन चीवर (कपडा) चीवरको रुपमा परिणत गर्ने ।

– कठिनलाई फैलाउने, संघसामु कथिन चीवर प्रकाशपार्नु, आवश्यकता भएकोलाई विनयपूर्वक हस्तान्तरण गर्नु ।

– कठिनलाई फैलाइएकोमा अनुमोदन गर्नु, त्यसमा हर्षित हुनु सहभागी हुनु । दायद हुनु, अंशियार हुनु।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर