आइसिसी एकदिवसीय क्रिकेट:भारत फाइनलमा

काठमाडौं ।  आयोजक भारत आइसिसी एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ। भारत सन् २०११ पछि पहिलोपटक क्रिकेट विश्वकपको फाइनलमा पुगेको हो।

मुम्बईमा बुधबार  न्युजिल्यान्डमाथि ७० रनको जित निकाल्दै भारत उपाधि नजिक पुग्यो। भारतले अब उपाधिका लागि आगामी आइतबार अस्ट्रेलिया वा दक्षिण अफ्रिका मध्ये एक टिमसँग खेल्नेछ। भारतले दिएको ३९८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८.५ ‌ओभरमा ३२७ रनमा अलआउट भयो।

न्युजिल्यान्डका लागि ड्यारल मिचेलले १३४ रन र कप्तान केन विलियमसनले ६९ रन  जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। बलिङमा भारतका मोहमद सामीले ७ विकेट लिए। उनले ९.५ ‌ओभरमा ५७ रन खर्चिए। त्यसअघि बुधबार मुम्बईमा टस जितेर  पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा ३९७ रन जोड्यो।

भारतका लागि विराट कोहलीले कीर्तिमानी ब्याटिङ गर्दै ११७ रन जोडे। उनले एकदिवसीय खेलमा ५०औं शतक प्रहार गरेका हुन्। अघिल्लो साता सचिन तेन्दुल्करको नाममा रहेको ४९ एकदिवसीय शतकको कीर्तिमान बराबरी गरेका कोहलीले बुधबार एकदिवसीय खेलमा सर्वाधिक शतकको नयाँ कीर्तिमान बनाएका हुन्। उनले खेलमा ११३ बलमा ९ चौका र २ छक्का हिर्काए।

भारतका लागि श्रेयस अय्यरले पनि शतक प्रहार गरे। उनले ७० बलमा ४ चौका र ८ छक्काको मद्दतमा १०५ रन जोडे। ओपनर तथा कप्तान रोहित शर्माले ४७ रन जोडे। अर्का ओपनर शुभमन गिल ८० रन र केएल राहुल ३९ रनमा नटआउट रहे। बलिङमा न्युजिल्यान्डका टिम साउथीले ३ विकेट लिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर