भूकम्पपीडितको अनुभव : खोई तिहार हो कि ? के हो ?

काठमाडौं । जाजरकोट भूकम्पले मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्‍यायो । सयौँ घरबारविहीन भए । प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ । उनीहरूको तिहार मनाउने सपना यसपटक पूरा हुन सकेन ।

सल्यानको दार्मा गाउँपालिकाबाट तिहार मनाउन आफ्नो माइती जिल्ला रुकुम पश्चिमको आठबीसकोट–१३ मा छोरासँगै आएकी २६ वर्षीया भूमिका शाही मल्ल र ४ वर्षको छोरा लेखनाथको भूकम्पमा परी मृत्यु भयो । दुई आमा छोराको मृत्यु मात्रै भएन, उनकी आमा, बहिनीको ९ महिनाको छोरा र माइजुको समेत मृत्यु हुन पुग्यो । उनीहरू पाँचै जनाको १४ नम्बर वडाको मामा घर ज्यामिरेकोट पूर्णगाउँमा मृत्यु भएको थियो । उनीहरू बिरामी माइजुलाई भेट्न त्यहाँसम्म पुगेका थिए ।

यता आठबीसकोट नगरपालिका १३ हम्पाका लक्ष्मण शाहीलाई आमा बहिनी, दुई भान्जा गुमाउँदा ठूलो ब्रजपात परेको छ । आमा, बहिनी, भान्जाहरू गुमाउनुको पीडा त छँदैछ । उनीहरूलाई तिहारले आफन्त सम्झाइरहेको छ ।

यति बेला धेरै ठाउँमा तिहारको रौनक छ । ठाउँठाउँमा देउसीभैलो खेलिरहेका छन् । तर लक्ष्मण जस्तै सयौँ भूकम्पपीडितलाई तिहारले छुन सकेको छैन । भूकम्पले घरपरिवारमा पुर्‍याएको जनधनको कारण यो वर्ष तिहार आएको महसुससमेत गर्न नपाएको आठबीसकोट १३ हम्पाका लक्ष्मण शाहीले बताए ।

तिहारभन्दा पनि अहिले रातको समयमा पर्ने शीत, पछिल्लो समयमा अत्यधिक बढेको चिसोबाट कसरी जोगिने भन्ने चिन्ता थपिएको आठबीसको नगरपालिका १३ भल्माका हरिबहादुर ओलीले बताए । तत्काल चिसोबाट हुने महामारीबाट जोगाउन र सुरक्षित बस्ने व्यवस्था मिलाउन स्थानीय सरकारलगायत सम्बन्धित निकायलाई गुहारसमेत गरिरहेको ओलीले बताए ।
त्रिपाल लगाएर बारीमै चिसो रात काट्नु पर्दा निकै समस्या हुने गरेको सानीभेरी–४ का कालिकादेवी मल्लले बताइन् । यो वर्ष तिहारले नछोए पनि विनाशकारी भूकम्पबाट बाच्न सफल भएकोमा भने मल्लले खुसी व्यक्त गरिन् ।

भूकम्पपीडितलाई पहिलो चरणको राहत वितरण सकिएकाले अस्थायी पुनर्निर्माण आवश्यक रहेको र सोहीअनुसार जिल्ला प्रशासन कार्यालय लागेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । उनका अनुसार सम्बन्धित स्थानीय तहलाई सोहीबमोजिम तयारी गर्न भनिएको छ । भूकम्प प्रभावित क्षेत्रमा तिहारलगतै अस्थायी पुनर्निर्माणको काम सुरु गरिने प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर