नेपाल–चीन सीमास्तम्भको संयुक्त निरीक्षण

काठमाडौं । हिल्सादेखि किट क्षेत्रमा स्थापना गरिएका नेपाल र चीनको सीमा क्षेत्रका सीमास्तम्भहरुको दुई देशका सुरक्षाकर्मीद्वारा संयुक्त अनुगमन गर्ने काम भएको छ । दुवै देशका सुरक्षाकर्मीको उपस्थितिमा सीमास्तम्भको अवस्था बारेका संयुक्त रुपमा जानकारी लिन अनुगमन गरिएको हो ।

सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक गुन्जनप्रताप मल्लले हिल्सामा स्थापना भएको सशस्त्र प्रहरी वलको सीमा सुरक्षा चौकीका (बिओपी) सुरक्षाकर्मी र चिनियाँ सुरक्षाकर्मीको सहभागितामा हिल्सादेखि किट क्षेत्रमा स्थापना गरिएका सीमास्तम्भको संयुक्त अनुगमन गर्ने कार्य भएको बताए ।

वर्षमा तीन पटक यसरी संयुक्त रुपमा सीमास्तम्भहरुको अनुगमन गर्नुपर्ने भए पनि यस वर्षको पहिलो अनुगमन गर्ने कार्य भएको उनले बताए । हिल्सादेखि किटसम्मका नेपाल र चीनको सिमानाका नौ वटा सीमास्तम्भको संयुक्त अनुगमन गर्न नेपाली सुरक्षाकर्मीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक पप्पु यादव र चिनीयाँ सुरक्षाकर्मीको तर्फमा निरीक्षक फरेष्ट लियोले गरेका थिए ।

सशस्त्र प्रहरी निरीक्षक यादवले दुई देशका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमा स्तम्भ अनुगमन कार्य हिल्सादेखि किटसम्मका पाँच (१) र (२), ६ (१) र ६ (२), ७ (१), ८ (१) र ९ (१) र (२) नम्बरका सीमास्तम्भको भएको बताए । उनले यी सबै सीमास्तम्भको अवस्था राम्रो रहेको निष्कर्ष संयुक्त सुरक्षाकर्मीको अनुगमन टोलीले गरेको बताए ।

यसका लागि दुवै देशका एघार एघार जना सुरक्षाकर्मी खटिएको थियो । उनले नेपाली सुरक्षाकर्मीले नियमानुसार सीमास्तम्भको अनुगमन गर्न तयार भए पनि चिनियाँ सुरक्षाकर्मीले केही ढिलाइ गरेको बताए । दुई देशका सीमा सुरक्षाकर्मीको काउन्टरपार्टको बैठक भने नियमित हुने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर