टिकटक बन्द गर्ने निर्णयपछि आलोचनाको ओइरो, राजनीतिक दलका नेताहरू विरोधमा

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि त्यसको विरोधमा प्रतिक्रियाहरू आइरहेका छन् ।
यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सामाजिक सञ्जाललाई नियमन गर्नु पर्ने तर बन्द गर्न नहुने बताए । उनले अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष भन्दै सरकारको निर्णय गलत भएको बताए ।

सामाजिक सञ्जालमा उनले लेखेका छन् , “सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन। समस्या कन्टेन्टको हो, प्लेटत्फर्मको होइन। अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? टिकटकका कयौं युजर र कन्टेन्ट खराब छन् तर सबै युजर र कन्टेन्ट खराब छैनन्। प्राविधिक रुपमा खराबलाई कन्ट्रोल गर्न सकिन्छ। टिकटकमा हालेको भिडियो रिलमा हाल्न मिल्छ, इन्स्टामा हाल्न मिल्छ, फेसबुकमा हाल्न मिल्छ। के सबै प्लेटफर्म बन्द गर्दै जाने हो त ? यो निर्णय गर्ने सत्ताधारी दल कै कयौं नेताहरु भ्रष्ट होलान् । के अब पार्टी नै बन्द गरिदिने हो त ? मूलधारले ढोका बन्द गरेका कयौं प्रतिभाहरु सामाजिक सञ्जालबाट उदाए, मूलधारले लुकाएका कयौं समाचार सामाजिक सञ्जालले उजागर गरे, सामाजिक सञ्जालले फैलाएका कयौं अफवाहलाई मूलधारले फेक प्रमाणीकरण गरे। आजको युगमा सोसियल मिडियाको विकल्प सुधारिएको (Better, Improved and Disiplaned) सोसियल मिडिया हो। सत्ताधारी दल कै जिम्मेवार पदाधिकारीहरुको विरोधको अर्थ चाहिँ बुझिएन। के यो निर्णय माओवादी केन्द्रको मात्रै हो?
यसैगरी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटोमा हिँडेको टिप्पणी गरे । नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि महामन्त्री थापाले सामाजिक सञ्जालमा लेखे, ‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो । यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने–नगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो ।’

महामन्त्री थापाले सरकारको नियत अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रतालाई कुण्ठित गर्ने देखिएको भन्दै यो कदम सच्चाउनुपर्ने माग गरे ।
यस्तै नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले टिकटक बन्द गर्ने सरकारको यो निर्णयप्रति विरोध जनाएका छन् । रिमालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सरकार, छनोट आधारित प्लेटफर्म बन्द गर्ने हैन, कन्टेन्ट नियमन गर, अभिव्यक्तिमा अराजकता नियन्त्रण गर ।’

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले टिकटक बन्द गर्ने सरकारको निर्णय गलत भएको टिप्पणी गर्दै अविलम्ब फिर्ता लिन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत शर्माले सरकारको कदमको विरोध जनाएका हुन् । उनले ट्विटरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेन्सन गर्दै भनेका छन्, ‘गर्धनमा पिलो आयो भने गर्धननै काट्ने प्रधानमन्त्री ? कि जोखिम रहित उपचार खोज्ने ? द्वेष फैलाउनेलाई पहिचान गर, नियम बनाइ बन्द गर, त्यसमा टिप्पणी छैन । तर एउटा बिराउने साह्रा पिराउने ढंगले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ । यो निर्णय अविलम्ब फिर्ता होस् ।’

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले टिकटक बन्द गर्ने निर्णय अस्वीकार्य, आपत्तिजनक र दुर्भाग्यपूर्ण रहेको जनाएको छ । सरकारले टिकटकलाई प्रतिबन्ध गरेर अधिनायकवादको नयाँ अध्याय प्रारम्भ गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।

‘लोकतन्त्रमा विधि, पद्धति बसाल्ने, विकृति, विसंगति रोक्ने, नियमन गर्ने कुरा प्रधान हुन्छ तर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुरा स्वीकार्य हुँदैन÷छैन। हिजो कसैले गरेको थियो भने त्यो गलत, आज कसैले गर्दैछ भने त्यो गलत र भोली कसैले गर्नेछ भने त्यो पनि गलत। जनतालाई सेवाप्रवाह नगर्ने, सुशासन नदिने, तिनका समस्या सम्बोधन नगर्ने तर सामाजिक सञ्जालमा हुने आलोचनासँग त्रसित हुनेहरूले टिकटकमा प्रतिबन्ध लगाउनु हाँस्यास्पद र विडम्बनापूर्ण छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले अगाडि लेखेका छन्, ‘सरकारको, दलका नेताको आलोचना त जताततै सुनिन्छ, के आलोचना गर्ने टिभी, रेडियो, पत्रपत्रिका, फेसबुक, युट्युब, ट्विटरलगायत पनि बन्द गर्ने सरकारको नीति हो? निर्णय फिर्ता लिऊ र जवाफ देऊ ।’

यसका साथै उनले कांग्रेसलाई व्यंग्य पनि गरेका छन् । ‘आफूलाई लोकतन्त्र, मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रताको पहरेदार ठान्ने संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पनि वर्तमान सरकारमै छ नि होइन र भन्या ? यो दीपावलीको समयको झिलिमिली उज्यालोमा सबैभन्दा पहिले कांग्रेसको खोजी गरौं’, व्यंग्य गर्दै उनले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर