थाहा फिल्म फेस्टिबलको तयारी

काठमाडौं । मकवानपुरको थाहा नगरमा आगामी मङ्सिरमा हुने थाहा फिल्म फेस्टिबल–२०२३ को तयारी तीव्र बनाइएको छ ।

पर्यटनका लागि फिल्म फेस्टिबल भन्ने नाराका साथ थाहा कला केन्द्रको आयोजनामा हुने एक हप्ते थाहा फिल्म फेस्टिबल–२०२३ को प्रचार प्रसारलगायत व्यवस्थापनको तयारी तीव्र पारिएको हो । मङ्सिर ९ गतेदेखि १५ गतेसम्म हुने थाहा फिल्म फेस्टिबल–२०२३ मा बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र थाहा नगरपालिकाको सहयोग छ ।

थाहा फिल्म फेस्टिबल–२०२३ आयोजक समितिका संयोजक प्रमोदकृष्ण जोशीले थाहा फिल्म फेस्टिवलका क्रममा चलचित्र, लघुचलचित्र र वृत्तिचित्र प्रदर्शनी गर्ने कार्यक्रम रहेको जानकारी दिए । उनले चलचित्र, लघुचलचित्र र वृत्तचित्र निःशुल्क रुपमा हेर्ने व्यवस्था मिलाइएको बताउँदै थाहा नगरसहित इन्द्रसरोवर गाउँपालिकालाई मिनी फिल्मसिटीको रुपमा विकास गर्ने उद्देश्यसहित एक हप्ते फिल्म फेस्टिवल आयोजना गरिएको बताए ।
फिल्म फेस्टिबलका अवसरमा थाहा नगरको पर्यटन प्रवर्धनका लागि बनाइएका वृत्तचित्रहरु प्रदर्शनी गरिनेछ । यस्तै, सो अवधिमा चलचित्र निर्माता, निर्देशक, कलाकार लगायतको सहभागितामा थाहा नगरभित्रका महत्वपूर्ण पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गराइने भएको छ ।

साथै कलाकारको सम्मान, निर्माता, निर्देशक तथा निर्माण समूहसँग अन्तर्क्रियालगायतका गतिविधि सञ्चालन गरिने आयोजक समितिका संयोजक जोशीले बताए । थाहा फिल्म फेस्टिबल अवधिमा दुई दर्जन चलचित्र, लघुचलचित्र लगायत प्रदर्शन गरिने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर