योग गुरु बाबा रामदेवद्वारा भूकम्पपीडितलाई राहत सहयोग

काठमाडौं । योग गुरु बाबा रामदेवले जाजरकोटका भूकम्पपीडितलाई आठ ट्रक राहत सामग्री पठाएका छन् । पतञ्जली योगपीठ हरिद्वार उत्तराखण्ड भारतबाट विभिन्न राहत सामग्री लिएर सोमबार ट्रक जाजरकोट आइपुगेको हो ।

स्वामी रामदेवजी महाराज र आचार्य बालकृष्णजीको तस्बिर अंकित राहत सामग्री बोकेका ट्रक जाजरकोट पुगेको छ । पतञ्जली योग समिति नेपालका अध्यक्ष लवदेवका अनुसार आठ ट्रकमा ५० टन राहत सामग्री रहेको छ । ६ हजारभन्दा बढी परिवारका लागि करिब दुई करोड रुपैयाँबराबरको राहत सामग्रीमा त्रिपाल, कम्बल, भाँडावर्तन, खाद्यान्न, लत्ताकपडालगायतका सामग्री रहेको छ ।

विपत्तिको बेला मानवीय सेवा गर्ने हेतुले स्वामी महाराज रामदेवजीको अग्रसरतामा राहत सामग्री आएको उनले बताए । यसका साथै पताञ्जली योग समिति नेपालले भूकम्प गएको दुई दिनपछि जाजरकोटका तीन स्थानमा निःशुल्क भोजनको व्यवस्था गरिरहेको छ ।

भेरी ३ को थाप्ले र नलगाड १ को चिउरी तथा कैनामा बिहान बेलुका यस समितिले निःशुल्क खाना खुवाइरहेको छ । यी दुई स्थानमा मेस सञ्चालन गरेर दैनिक दुई हजार जनालाई खाना खुवाइरहेको अध्यक्ष लबदेवले बताए । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले पतञ्जली योग समितिले भुकम्पपीडितलाई खाना खुवाउने व्यवस्था गर्दा निकै राहत भएकोे बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर