नेपालमा मातृ मृत्यु : ५७ प्रतिशत आमाले अस्पतालमै गुमाउँछन् ज्यान

काठमाडौं । स्वास्थ्य सेवाको पहुँचबाट सुगम मानिएको लुम्बिनी प्रदेशमा देशभरका अन्य प्रदेशको तुलनामा सबैभन्दा धेरै सुत्केरी आमाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा प्रतिएक लाख जीवित जन्ममा २०७ आमाको मृत्यु हुने गरेको देखिएको छ। तर देशभरको समग्र मातृमृत्यु दर हेर्ने हो भने  नेपालमा प्रति एक लाख जीवित जन्ममा १५१ जना आमाको मृत्यु हुन्छ। देशभरको समग्र मातृ मृत्युदरमा सुधार आए पनि प्रदेशस्तरमा हेर्दा लुम्बिनी प्रदेशमा अझै पनि मातृमृत्यु दर धेरै छ।

१२औं राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनले नेपालमा मातृमृत्युमा सुधार आएको देखाएको थियो। यसै सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश स्तरमा मातृमृत्यु दर कस्तो छ भनेर गरेको अध्यनमा देशभर रहेका सात प्रदेशमध्ये  लुम्बिनी प्रदेशमा मातृमृत्यु दर उच्च रहेको पाइएको हो।

अचम्मको कुरा के छ भने स्वास्थ्य सेवाको पहुँचको हिसाबले हेर्दा कर्णाली प्रदेशभन्दा पनि सुगम रहेको लुम्बिनी प्रदेशमा कर्णाली प्रदेशमा भन्दा धेरै मातृमृत्यु दर हुने गरेको देखिएको छ। हाल कर्णाली प्रदेशमा प्रति एक लाख जीवित जन्ममा १७२ आमाको मृत्यु हुने गरेको देखिएको छ। गर्भावस्थादेखि सुत्केरी भएको ४२ दिनसम्ममा हुने महिलाको मृत्युलाई मातृमृत्यु दर भनिन्छ।

सबैभन्दा कम मातृमुत्यु दर बाग्मती प्रदेशमा

प्रदेशस्तरमा हेर्दा लुम्बिनी प्रदेशको मातृमुत्युदर २०७ रहेको छ। यस्तै कर्णालीको १७२,गण्डकी प्रदेशको १६१, कोशी प्रदेशको १५७, मधेश प्रदेशको १४० रहेको छ भने सबै भन्दा कम बाग्मती प्रदेशको ९८ रहेको छ। यी सबै प्रदेशको मातृमुत्यु दर हुने संख्या प्रतिएक लाख जीवित  जन्ममा हुने आमाको मृत्युको संख्या हो।

५७ प्रतिशत मातृमुत्यु अस्पतालमै

स्वास्थ्य मन्त्रालयको विवरण अनुसार अझै पनि नेपालमा हुने कुल मातृमुत्युको ५७ प्रतिशत अस्पतालमा नै हुने गरेको छ। यस्तै २६ प्रतिशत घरमा र १७ प्रतिशत मातृमुत्यु दर गर्भावस्थाको वेला वा प्रसूतिको समयमा एक स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा हुने गरेको पाइएको छ।

यसमा पनि कुल मातृमुत्यु दरमा ६१ प्रतिशत प्रसूती अवस्थामा (सुत्केरी भएको ४२ दिनसम्म)मा ३३ प्रतिशत मातृमृत्यु गर्भावस्थाको समय र ६ प्रतिशत मातृमृत्यु बच्चा जन्माउने बेला (प्रसव) को समयमा हुने गरेको देखिएको छ।

मातृमुत्युको मुख्य कारण

स्वास्थ्य मन्त्रालयका निति योजना माहाशाखा प्रमुख डा. कृष्ण पौडेलका अनुसार अझै पनि मातृमृत्यु दर बढ्नुको मुख्य कारणहरुमा पहिलो कारण उपयुक्त स्वास्थ्य सेवा लिन निर्णय गर्नमा ढिलाइ, दोस्रो कारणमा उपयुक्त स्वास्थ्य संस्था पुग्न ढिलाइ र तेस्रो कारणमा उपयुक्त स्वास्थ्य सेवाप्राप्तिमा ढिलाइ रहेको छ।

मृत्यु हुने आमाहरूको अवस्था हेर्दा अहिले पनि देशभर उपयुक्त स्वास्थ्य सेवा लिन निर्णय गर्न ढिलाइ गर्दा मातृस्वास्थ्यमा असर गरेको देखिएको छ। अहिले पनि १७ प्रतिशत गर्भवती महिलाले उपयुक्त स्वास्थ्य सेवा लिन निर्णय गर्नमा ढिलाइ गर्छन् भने माथि उल्लेख गरिएका तीन वटै कारणमा ढिलाइ गर्ने गर्भावस्थाका महिला ४० प्रतिशत रहेका छन् जसले गर्दा मातृमुत्युको कारणलाई केही न केही कारणले जोखिम बढाउने गरेको देखिएको छ।

‘स्वास्थ्य संस्थाको पहुँचको आधारमा सुगम भनिएका स्थानमा नै मातृमृत्यु दर धेरै हुनु गम्भीर विषय भएका कारण आगामी दिनमा यो विषयमा गम्भीर छलफल गर्नु पर्ने अवस्था आएको छ, अब केही दिनपछि हुने स्वास्थ्यको वार्षिक समीक्षा बैठकमा पनि यस विषयमा छलफल गरेर भोलिका दिनमा कस्तो कदम चाल्ने भनेर निर्णय गर्नु पर्ने अवस्था रहेको छ’ डा.पौडेलले भने।

जनगणना २०७८ को प्रतिवेदनले हाल देशभर प्रतिएक लाख जीवित जन्ममा १५१ जना आमाको मृत्यु हुने देखाएको थियो। स्वास्थ्य मन्त्रालय र केन्द्रीय तथ्यांक विभागले संयुक्त रूपमा गरेको यही अध्ययनले पाँच वर्षअघि गरेको अध्ययनले भने नेपालमा मातृमृत्यु २३९ जना गरेको देखाएका थियो।

जनगणना २०७८ को प्रतिवेदनले पनि देशभर प्रजनन उमेर समूहका (१५–४९ वर्ष) का १२ हजार ९७६ महिलाको मृत्युमध्ये ६५३ जना (पाँच प्रतिशत) को मृत्यु गर्भावस्थासँग सम्बन्धित रहेको समेत देखाएको छ। मृत्युमध्ये ६२२ जना (९५ प्रतिशत) को मृत्यु मातृमृत्युसँग सम्बन्धित छ। यो अवधिमा उक्त उमेर समूहबाट कुल ४ लाख १२ हजार ९३५ जना जीवित बच्चाको जन्म भएको देखिएको छ, जसअनुसार मातृमृत्यु दर १५१ जना (प्रतिलाख जीवित जन्ममा) रहेको नतिजाले देखाएको थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर