तिहार नजिकिँदा सुनचाँदीको कारोबारमा वृद्धि

काठमाडौं । तिहार नजिकिँदै गर्दा बजारमा सुनचाँदीको कारोबार बढ्न थालेको छ । चाडपर्वका बेला ग्राहकले नयाँ गहना किन्ने भएकाले पनि सुनचाँदीको कारोबार बढ्न थालेको छ । सामान्य अवस्थामा दैनिक १० किलो सुन बिक्री हुने गरेकामा अहिले २० किलोमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले विगतका वर्षजत्तिको व्यापार बढ्न नसके पनि अन्य समयको तुलनामा दुईरतीन दिनअघिदेखि सुनको कारोबार बढ्दै गएको जानकारी दिए । आर्थिक मन्दी र मूल्य बढेका कारण विगतका वर्ष सुनचाँदीको कारोबारमा ३० प्रतिशतले गिरावट आएको उनको भनाइ छ । तिहारको समयमा उपभोक्ताले धनसम्पत्ति जोड्ने भएकाले बजार मागसमेत बढेको व्यवसायीको भनाइ छ । तिहार आउनै लाग्दा धनतेरस र लक्ष्मीपूजाको दिन झनै सुनचाँदीको कारोबार बढ्छ ।

गत वर्ष २५ देखि ३० किलो सुनको कारोबार हुने गरेकामा हाल आर्थिक मन्दीका कारण समग्र व्यापारमा गिरावट आएको उनको भनाइ छ । तिहार नजिकिँदै गर्दा न्युरोडका सुनचाँदी पसलमा सामान खरिद गर्ने ग्राहकको भिडभाड लाग्ने गरेको छ ।

उपभोक्ताले धनतेरस र लक्ष्मीपूजामा सुनचाँदी जोडेमा वर्षभरि धन आर्जन हुने विश्वास राख्छन् । चाडपर्वको समयमा सुनसँगै चाँदीको समेत कारोबार बढ्छ । तिहारलाई सुनभन्दा चाँदी धेरै खपत हुने चाडका रूपमा लिइन्छ । यो समयमा उपभोक्ताले पूजाआजाका लागि चाँदीको सामग्री किन्ने गर्छन् । सोही कारण पछिल्लो समय दैनिक छ सय किलो धेरै चाँदी बिक्न थालेको महासङ्घको भनाइ छ । बजारमा सुनको मूल्य प्रतितोला एक लाख १४ हजार रुपैयाँ रहेको छ ।

गत असोज महिनादेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएको थियो । गत कात्तिक १२ मा प्रतितोला एक लाख १७ हजार रुपियाँ पुगेको सुनको मूल्य गत सातादेखि क्रमिक रूपमा घट्दै गएको छ ।

तीन महिनामा आठ अर्बको सुन भित्रियो

चालू आर्थिक वर्ष २०८०र८१ को तीन महिनाको अवधिमा सात अर्ब रुपैयाँभन्दा धेरैको सुन भित्रिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि असोजसम्मको अवधिमा सात अर्ब ९६ करोड २० लाख २४ हजार रुपैयाँबराबरको सुन आयात भएको छ ।

गत आवमा ११ अर्ब ५७ करोड ७७ लाख आठ हजार रुपैयाँ सुन आयात भएको थियो । गत वर्षको तुलनामा सुन आयात ३१ प्रतिशत कमी आएको विभागको तथ्याङ्क छ । यस्तै तीन महिनामा नौ करोड ९७ लाख रुपैयाँबराबरको चाँदी भित्रिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर