भूकम्पबाट ३६ हजार परिवार घरवारविहीन, १७ हजार ८ सय ९६ घर पूर्णरूपमा क्षति

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण झण्डै ३६ हजार परिवार घरवारविहीन भएका छन् । गृह मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार १७ हजार ८ सय ९६ घर पूर्णरूपमा र १७ हजार ८ सय ५० घर आंशिक रूपमा भत्किएका हुन् ।

पूर्ण र आंशिक रूपमा घर भत्किएका परिवार खुला ठाउँमा बस्न बाध्य छन् । आंशिक रूपमा भत्किएका घरहरू पनि लगातारको परकम्पले भत्किने क्रम चलिरहेको छ । लगातारको परकम्पका कारण घर नभत्किएकाहरू पनि घर छाडेर सुरक्षित ठाउँमा बस्दै आएकाले भूकम्पका कारण विस्थापित हुनेहरूको संख्या अझै धेरै भएको पालिकाका जनप्रतिनिधिहरूले बताएका छन् । सबैभन्दा धेरै रुकुम पश्चिममा १६ हजार ५ सय ७० घर पूर्ण र नौ हजार ९ सय ६१ घर आंशिक रूपमा भत्किएका छन् । जाजरकोटमा एक हजार एक सय ७० घर पूर्ण र सात हजार १ सय ६६ घर आंशिक रूपमा भत्किएका छन् । सल्यानमा एक सय २९ घर पूर्ण र चार सय १८ घर आंशिक रूपमा भत्किएका छन् । यस्तै रुकुम पूर्व, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालिकोट, प्यूठान र अछाममा पनि घर भत्किएका छन् ।

भूकम्पका कारण जाजरकोटमा एक सय एक जना र रुकुम पूर्वमा ५२ जना गरी एक सय ५३ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । भूकम्पका कारण तीन सय ६४ जना घाइते भएका छन् । घाइतेमध्ये थप उपचारका लागि रिफर गरिएका ७४ जनाको देशका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । १९ जनाको प्रादेशिक अस्पताल सुर्खेत र ४६ जनाको नेपालगञ्जको भेरी अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ८ जना र १ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर