अचाक्ली बढ्यो प्याज र गोलभेंडाको मूल्य, चिनीको लुकामारी

काठमाडौं । प्याजको भाउ उकालो लाग्न थालेको छ । असोज ३० मा औसत प्रतिकिलो ७०.४० रुपैयाँमा बिक्री भएको प्याज कात्तिक १४ (मंगलबार) प्रतिकिलो १२२.५० रुपैयाँ पुगेको छ । दुई सातामै प्याज ६०.३४ प्रतिशतले बढेको हो । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य हो ।कालीमाटी तरकारी बजारले उपत्यकाको करिब ७० प्रतिशत माग धान्छ । बाँकी ३० प्रतिशत बल्खु, कोटेश्वर, टुकुचा, चाबहिल, धुम्बाराही, कलंकीलगायत बजारले माग पूर्ति गर्छन् । यी बजारबाट खुद्रामा आइपुग्दा मूल्यमा फरक पर्छ । त्यसमाथि उपभोक्ता मूल्य मनलाग्दी निर्धारण भएको हुने गरेको छ । ‘दसैंअघि प्रतिकिलो ७० देखि ८० रुपैयाँमा बिक्री भएको थियो । दसैंलगत्तै भाउ दिनदिनै बढेको छ,’ समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘मूल्य बढ्नुको एक मात्र कारण भारतसँगको निर्भरता हो । भारतबाहेक विकल्प नहुँदा मूल्य अकासिएको छ ।’ कालीमाटी तरकारी बजारमा भित्रिने प्याजमध्ये ९९ प्रतिशत भारतीय हो । केही व्यापारीले थोरै मात्रामा चीनबाट ल्याए पनि स्वादका कारण बिक्री हुँदैन । नेपाली उपभोक्ताले चिनियाँ प्याज त्यति रुचाउँदैनन् ।

प्याजसँगै गोलभेंडाको मूल्य पनि आकाशिएको छ । समितिको विवरणअनुसार असोज ३० मा औसत मूल्य २८।६० रुपैयाँ रहेको गोलभेंडा ९लोकल० कात्तिक १४ मा प्रतिकिलो ४५ रुपैयाँ पुगेको छ । टनेलको गोलभेंडा ९सानो० को मूल्य प्रतिकिलो ३७।४० रुपैयाँबाट बढेर ५० रुपैयाँ पुगेको छ । भारतीय गोलभेंडाको मूल्य पनि बढेको उल्लेख छ । होलसेलमा मूल्य बढ्दा खुद्रामा थप वृद्धि भएको हो ।

यसैगरी यस वर्ष तिहारमा पनि चिनी अभाव हुने देखिएको छ । चिनी अभाव हुँदा दसैँका बेला कालोबजारी भएको थियो । उपभोक्ताले किलोको एक सय ५० रुपैयाँ तिर्दासमेत चिनी पाएका थिएनन् । सरकारले चाडपर्वलक्षित गरेर साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत १० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत १० हजार मेट्रिक टन गरी २० हजार मेट्रिक टन भन्सार छुटमा चिनी खरिद गर्ने निर्णय गरेकोमा खरिद गर्न असफल भए पछि तिहारमा पनि अभाव हुने भएको हो ।

कर्पोरेसन र खाद्य कम्पनीले दसैँ अगाडि नै चिनी खरिद गर्न ग्लोबल टेन्डर गरेकोमा खरिदमै प्रतिकिलो एक सय ४२ रुपैयाँ तिर्नुपर्ने प्रस्ताव परेको छ । त्यसमा पनि भारत सरकारलाई ४० प्रतिशत कर तिर्नु पर्छ । अब सरकारको उच्च तहबाट पहल गरेर कुनै उपाय नखोजिएमा मन्त्रालयको तर्फबाट चिनी ल्याउन सक्ने अवस्था नरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति महाशाखाका प्रमुख गजेन्द्रकुमार ठाकुरले बताए । बजारमा अहिले चोरी बाटोबाट ल्याएको चिनी प्रतिकिलो एक सय ५० देखि एक सय ६० रुपैयाँमा बिक्री भइरहेको छ । तर धेरैजसो खुद्रा पसलमा चिनी पाइँदैन । सरकारले आन्तरिक बजारबाट उपलब्ध गराएको ७० टन चिनी काठमाडौं  उपत्यकामा साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत प्रति ग्राहक दुई किलोका दरले बिक्री गरिरहेको छ । सरकारले चाडपर्वमा बजार मूल्य नियन्त्रण गर्नका लागि कर्पाेरेसनमार्फत भन्सार छुटमा चिनी आयात गर्दै आएको थियो । तर बितेका दुई वर्षदेखि अनुदानको चिनी खरिदका लागि अर्थ मन्त्रालयले स्वीकृति दिएन । यो वर्ष पनि अर्थले ढिला गरी स्वीकृति दिएपछि ग्लोबल टेन्डर गर्दा चर्को मूल्यको टेण्डर परेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर