सन् २०३४ को विश्वकप फुटबल साउदी अरेबियामा हुने

काठमाडौं । सन् २०३४ को पुरुष विश्वकप फुटबल प्रतियोगिता साउदी अरेबियाले गर्ने पक्का भएको छ । अस्ट्रेलियाले प्रतियोगिता आयोजना गर्न प्रस्ताव नगर्ने निर्णय गरेपछि साउदी अरेबियाले २०३४ को पुरुष विश्वकप फुटबल आयोजना गर्ने पक्का भएको बीबीसीले जनाएको छ ।

आयोजकको दाबी पेस गर्ने समय चार घण्टाभन्दा कम रहेको अवस्थामा फुटबल अस्ट्रेलियाले प्रतियोगिता आयोजना गर्ने प्रस्ताव नगर्ने निर्णय गरेको हो । अब सन् २०३४ को विश्वकप आयोजकको दाबी गर्ने साउदी अरेबिया मात्रै एक्लो देश बनेको छ ।

अस्ट्रेलियाको प्रशासकीय निकायले सन् २०२६ मा एएफसी महिला एसियन कप र २०२९ मा क्लब विश्वकप आयोजना गर्न आफ्नो प्रयास केन्द्रित गर्न चाहेको बताएको छ । सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा हुनेछ । मोरक्को, पोर्चुगल र स्पेनले सन् २०३० को विश्वकपको आयोजना गर्नेछन् जसमा केही खेल अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा पनि हुनेछ ।

फिफाले सन् २०३४ को विश्वकप एसिया वा ओसिनियामा हुने बताएको थियो र अस्ट्रेलियाकाे बोलीलाई साउदी अरेबियाको एक मात्र सम्भावित चुनौतीको रूपमा मानिएको थियो । तर उसले आयोजनाको प्रस्ताव नै नगरेपछि साउदीमै विश्वकप हुने पक्का भएको हो । तर महिला अधिकार हनन, समलैङ्गिकताको अपराधीकरण, अभिव्यक्ति स्वतन्त्रताको प्रतिबन्ध लगायतका कारण अमेरिका र युरोपेली देशले साउदी अरेबियालाई आयोजनाको अधिकार दिने निर्णय सोचनीय रहेको बताइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर