मलेसियालाई हराएर नेपाल सेमिफाइनलमा उक्लन सफल

काठमाडौं । कुशल भुर्तेल र कुशल मल्लको विस्फोटक ब्याटिङको सहयोगमा नेपालले मङ्गलबार मलेसियालाई ६ विकेटले हराएर आइसिसी टी २० विश्वकप एसिया क्षेत्र क्वालिफायरको सेमिफाइनलमा स्थान बनाएको छ । समूह ‘ए’ बाट नेपाल र ओमानले एक खेलअघि नै अन्तिम चारमा स्थान बनाएका हुन् । नेपाल र ओमानले मङ्गलबार लगातार दोस्रो जित हात पारेका हुन् । यी दुई टिमबीच बिहीबार हुने भिडन्तले समूह ए विजेताको छिनोफानो गर्नेछ । आठ टिम सहभागी यस छनोट प्रतियोगिताको फाइनल पुग्ने दुई टोली २०२४ मा हुने टी–२० विश्वकप खेल्न पाउने प्रावधान रहेको छ । विश्वकप टी–२० अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकटको क्षतिमा १६५ रनको प्रतिस्पर्धात्मक लक्ष्य तयार पारेको थियो । तर दुई कुशलले विस्फोटक ब्याटिङ गरेपछि नेपालले दुई ओभर बाँकी छँदै चार विकेटको क्षतिमा १६६ रन बनाएर लक्ष्य हासिल गर्‍यो । मल्लले मात्र ३४ बलमा सर्वाधिक ६५ रन बनाए । उनको पालिमा सात छक्का र दुई चौका सामेल थियो । १९ वर्षीय मल्लले म्यान अफ दि म्याच बनेर ५० हजार रुपैयाँ पनि प्राप्त गरे । प्रारम्भिक ब्याट्सम्यान भुर्तेलले २५ बलमा चार चौका र चार छक्कासहित ४३ रन बनाएर आफू पछि आउने ब्याट्सम्यानलाई ब्याटिङ गर्न सहज बनाइदिएको थियो ।

भुर्तेल र आसिफ शेखले मिलेर पहिलो विकेटका लागि ५.२ ओभरमा ४९ रनको साझेदारी निर्वाह गरेका थिए । जसमध्ये ४३ रन भुर्तेलको थियो । कुशल पवनदीप सिंहको बलिङमा क्याच आउट भए । भुर्तेल आउट भएपछि तेज गतिमा खेलेका आसिफ २३ बलमा एक चौका र दुई छक्कासहित ३४ रन बनाएर अमिर अजिमद्वारा ‘कट एन्ड बोल’ हुनुभयो । कप्तान रोहित पौडेलले आज दुई रन मात्र योगदान दिए । सन्दीप जोरा १८ र विवेक यादव दुई रनमा अविजित रहे । मलेसियाका अमिर अजिमले सर्वाधिक तीन विकेट लिए ।

यसअघि मलेसियाले ५.५ ओभरमा नै विना विकेटको क्षतिमा ५८ रन बनाएर नेपाललाई तर्साएको थियो । मलेसियाका प्रारम्भिक ब्याट्सम्यान सयद अजिजले ४९ बलमा आठ चौका र दुई छक्कासहित सर्वाधिक ६८ रन बनाए । अविनाश बोहराले आफ्नो पहिलो ओभरमा नै हमद जुबेदीलाई २४ रनमा आउट गरेर नेपाललाई पहिलो सफलता दिलाएको हो । अविनाशले त्यसपछि थप तीन विकेट हासिल गरे । अविनाश चार ओभरमा २७ रन खर्चेर चार ब्याट्सम्यानलाई आउट गरेर सर्वाधिक सफल बलर बने । नेपालका लागि सन्दीप लामिछाने, गुलसन झा र रोहितले एक–एक विकेट लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर