द्वन्द्वका कारण मानवअधिकार कुण्ठित : गुटेरेस

काठमाडौं । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले संसारका सबै देशलाई शान्तिका लागि कार्य गर्न आह्वान गरेका छन् । लुम्बिनी भ्रमण गरेपछि मायादेवी मन्दिर परिसरमा मंगलबार पत्रकारहरूलाई सम्बोधन गर्दै गुटेरेसले अहिले मध्य पूर्वी देश, युक्रेन, इजरायल, सुडानलगायत देशमा फैलिएको द्वन्द्वका कारण मानवअधिकार र अन्तर्राष्ट्रिय कानुन कुण्ठित भएको बताए ।

शान्ति र आध्यात्मिकता स्थल भ्रमण गर्न पाउँदा गौरवान्वित महसुस गरेको बताउँदै गुटेरेसले संसारमा बढ्दै गएको अशान्तिको समाधान गर्न बुद्धले दिएको मित्रता, अहिंसा र अन्तरनिर्भरताको शिक्षाले भूमिका खेल्न सक्ने बताए । महासचिव गुटेरेससँगै लुम्बिनी पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसारभर शान्तिको सन्देश लुम्बिनीबाट आफूहरूले दिन चाहेको बताए ।
दाहालले शान्तिको बाधक तत्त्व सबैलाई पहिचान गरेर समाधानको बाटो खोज्न सकिए शान्ति कायम रहिरहने जानकारी दिए । जलवायु परिवर्तनका कारण नेपालको हिमालय क्षेत्रमा देखिएको प्रभावबारे महासचिव गुटेरेस मार्फत दाहालले पत्रकार सम्मेलनमा राष्ट्र संघलाई जलवायुको परिवर्तनको असरबारे सचेत गराए ।

महासचिव गुटेरेस बिहान अन्नपूर्ण बेस क्याम्प पुगेर पोखरा हुँदै नेपाली सेनाको हेलिकप्टरमा लुम्बिनी पुगेका थिए । लुम्बिनीमा गुटेरेस करिब १ घण्टा बिताए । प्रधानमन्त्री प्रचण्डले महासचिव गुटेरेसलाई लुम्बिनीको लिटिल बुद्धमा स्वागत गरेपछि पवित्र बगैँचा भित्र वृक्षारोपण गरिएको थियो । महासचिव गुटेरेसले लुम्बिनीमा एउटा सालको बिरुवा रोपेका छन् । वृक्षारोपणपछि मायादेवी मन्दिरभित्र गुटेरेसले गौतम बुद्धको जन्मशिलाको दर्शन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर