“गाजामा मानवीय सहयोग रोक्नु मानवीय अपराध हुन सक्ने”

काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का प्रमुख अभियोजकले गाजामा मानवीय सहयोग रोक्नु मानवीय अपराध हुनसक्ने आइतबार चेतावनी दिएका छन् । “जेनेभा महासन्धिले प्रदान गरेको राहत आपूर्तिमा अवरोध उत्पन्न गर्नु अदालतको क्षेत्राधिकारभित्र अपराध हुनसक्छ”, कायरोमा पत्रकारहरूसँग करिम खानले भने । उनले इजिप्टको रफाह क्रसिङको भ्रमण गरेपछि अत्यावश्यक सामग्रीले भरिएका ट्रकहरू रफाह क्रसिङमा रोकिएको र गाजामा प्रवेश नपाएको बताए ।
“मैले मानवीय सहयोगसहित भरिएका ट्रकहरू त्यहाँ रोकिएको देखेँ जहाँ कसैलाई त्यो सहयोग आवश्यक थिएन, इजिप्टमा रोकिएको थियो, रफाहमा रोकिएको थियो”, उनले भने, “यी आपूर्ति गाजाका नागरिकहरूलाई कुनै ढिलाइ नगरी उपलब्ध गराउनुपर्छ ।”

हाल हमास नियन्त्रित प्यालेस्टिनी क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग प्रवेश गराउने रफाह एउटा मात्र प्रवेश बिन्दु हो । हमास नियन्त्रित उक्त क्षेत्रले पूर्ण घेराबन्दी र इजरायली बमबारीको सामना गरिरहेको छ । इजरायली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा हमासका बन्दुकधारीहरूले सीमा पार गरेर गरेको हमलापछि इजरायलले गाजालाई घेराबन्दी गरेको छ र ठूलो मात्रामा बमबारी सुरु गरेको छ । हमासले गरेको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार चार सय जना मारिएका थिए भने हमासले दुई सय ३० नागरिकलाई बन्धक बनाएको थियो ।

इजरायलले गरेको जवाफी हमलामा अहिलेसम्म आठ हजारभन्दा बढी मानिस मारिएको र तीमध्ये आधाजति बालबालिका रहेको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयले बताएको छ । अक्टोबर २१ मा रफाह क्रसिङमार्फत सीमित सहयोग सामग्री वितरण सुरु भएको थियो र अहिलेसम्म एक सय १७ ट्रक रफाह क्रसिङबाट गाजा प्रवेश गरेका छन् । घेराबन्दी हुनुभन्दा पहिला सहयोग सामग्री र अन्य सामग्री लिएर करिब पाँच सय ट्रक प्रत्येक दिन गाजामा प्रवेश गर्थे । गाजामा सर्वसाधारणलाई आधारभूत खाद्यान्न र औषधि सुनिश्चित गर्नका लागि इजरायलले बिना कुनै ढिलाइ ठोस प्रयास गर्नुपर्ने आफूले इजरायललाई स्पष्टरूपमा भन्न चाहेको खानले बताए । आइतबार संयुक्त राष्ट्रसङ्घले प्यालेस्टिनी शरणार्थीका लागि उसको एजेन्सी युएनआरडब्लुएले गाजामा सञ्चालन गरेको खाद्यान्न सहायता केन्द्रहरूमा लुटपाट भएपछि सार्वजनिक व्यवस्था बिग्रन सक्ने चेतावनी दिएको थियो ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस मृतकहरूको सङ्ख्या बढ्दै गएको र आवश्यक खाद्यान्न, पानी, औषधि र आश्रयको आपूर्ति कम हुँदै गएकाले गाजा क्षेत्रको अवस्था प्रत्येक घन्टा भयावह हुँदै गएको बताए । इजरायलीले प्यालेस्टिनी क्षेत्र वा प्यालेस्टिनीले इजराइली क्षेत्रमा गरेको जुनसुकै अपराधको पनि आफ्नो कार्यालयमा अनुसन्धान भइरहेको खानले बताए । “यसमा गाजा र पश्चिम किनारमा भएका हालका घटना सामेल छन्”, उनले भने, “सन् १९६७ देखि इजराइलले कब्जामा लिएको क्षेत्रमा प्यालेस्टिनी नागरिकहरूविरुद्ध त्यहाँ बस्नेहरूले आक्रमण गरेका घटनाको सङ्ख्या बढ्दै गएको रिपोर्टले म अत्यन्त चिन्तित छु ।” खानले बन्धक बनाउनु जेनेभा महासन्धिको उल्लङ्घन भएकोमा पनि जोड दिए । “हमासले इजरायलबाट बन्धक बनाएका सबैलाई तत्काल रिहा गर्न र परिवारसँग उनीहरूको सुरक्षित फिर्तीका लागि आग्रह गर्दछु”, उनले भने, “हमाससँगको युद्धमा इजराइलको नैतिक दायित्व मात्र नभएर युद्धका कानुनहरूको पालना गर्ने पनि दायित्व छ, यो नियम इजरायलमा अन्धाधुन्ध रकेट हमला गर्ने हमासमा पनि समानरूपमा लागू हुन्छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर