डेंगुको सङ्क्रमण बढ्दै, तनहुँमा एक जनाको मृत्यु

काठमाडौं । तनहुँमा डेंगुको सङ्क्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । व्यास नगरपालिका–९ डोटेलफाँट निवासी ७२ वर्षीया टीकामाया पौडेलको हालै मृत्यु भएको हो । दमौली गरिएको उपचारमा निको नभएपछि काठमाडौंस्थित मेट्रोसिटी अस्पतालमा लगिएको र त्यहाँको चिकित्सकले डेंगुबाट मृत्यु भएको उल्लेख गरेको स्थानीय बासिन्दा बाबुराम खनालले जानकारी दिए । पौडेलको मृत्यु भएसँगै जिल्लामा डेंगुबाट ६ जनाको मृत्यु भएको छ ।

तनहुँमा पछिल्लो समय शहरी क्षेत्रमा समेत नभई ग्रामीण क्षेत्रमा समेत डेंगुको सङ्क्रमण फैलिन थालेको र हालसम्म छ हजार चार सय ६० जनामा सङ्क्रमण भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । डेंगुको सङ्क्रमण बढ्दै गएपछि सरकारी तथा निजी अस्तालमा बिरामीको भीड लागेको छ । डेंगुको सङ्क्रमण एडिज जातीको लामखुट्टेबाट मात्र फैलने, सफा पानीमा फूल पार्ने, लार्भा हुर्काउने भएकोले पानी जम्न नदिएर बासस्थान ध्वस्त बनाएर लामखुट्टेलाइ नष्ट गर्नुपर्ने चिकित्सक बताउँछन् । यसैगरी महोत्तरीको मनरासिस्वा नगरपालिकामा डेंगु रोगीहरुको सङ्ख्या बढ्दै गएपछि ‘लार्भा खोजी र नष्ट’ अभियान सुरु गरिएको छ ।

डेंगु रोगको प्रकोप रोकथाम तथा नियन्त्रणका लागि बजारसहित गाउँबस्तीमा लार्भा खोज्ने तथा औषधि छर्किने काम भइरहेको मनरासिस्वा नगरपालिकाका नगरप्रमुख मोहन पाण्डेयले जानकारी दिए । बजार तथा बस्तीक्षेत्रमा पानी राख्ने भाडा, ट्याङ्की, खाल्डाखुल्डी पुर्ने र पानीमा लामखुट्टेको बसाइ रहे नरहेको हेरी खोजतलास गरी नष्ट गर्ने कार्यक्रम सञ्चालन गरिएको छ । यसैगरी काभ्रेपलाञ्चोकमा पछिल्ला केही दिनयता डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ६ जनामा सङ्क्रमण देखिएको धुलिखेलस्थित जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । थपिएका सङ्क्रमित चार महिलासहित छ जना बनेपा नगरपालिका पाँचखाल नगरपालिका र रोशी गाउँपालिकाको बासिन्दा रहेको कार्यालयका निमित्त प्रमुख डा. अनिता खनालले जानकारी दिए ।

अघिल्ला दुई दिन नौ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । कार्यालयको दैनिक तथ्याङ्कअनुसार कात्तिक महिनाको १२ दिनमा २७ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो । यस्तै यस आर्थिक वर्षको साउनदेखि हालसम्म जिल्लामा ८९ महिला र ८४ पुरुष गरी एक सय ७३ जनामा डेङ्गु पुष्टि भएको कार्यालयले जनाएको छ । जिल्लामा गत असोज अन्तिम साता पुनः डेङ्गुको सङ्क्रमण देखिएको थियो । जिल्लाको १३ स्थानीय तहमध्ये बेथानचोक गाउँपालिका बाहेक हाल १२ वटै स्थानीय तहमा डेङ्गुका सङ्क्रमित पुगेका थिए । तीमध्ये सबैभन्दा बढी बनेपा नगरमा ७१ सङ्क्रमित थिए । यस्तै धुलिखेल नगरमा २१, पनौती नगरमा २०, पाँचखाल नगरमा सात, नमोबुद्ध नगरमा २२ जना डेङ्गु सङ्क्रमित थिए । मण्डनदेउपुर नगरमा १८, भुम्लु गाउँपालिकामा एक, रोशीमा आठ, तेमालमा दुई, खानीखोलामा एक, महाभारत र चौंँरीदेउराली गाउँपालिकामा एक÷एकजना सङ्क्रमित रहेको कार्यालयले जनाएको छ । सङ्क्रमितमध्ये केही विभिन्न अस्पतालमा उपचाररत रहेको जनाइएको छ । जिल्लामा गत आवको अन्त्यसम्म छ सय ८० जना डेङ्गुबाट सङ्क्रमित भएका थिए । डेङ्गुको उच्च जोखिमका रुपमा रहेको काभ्रेपलाञ्चोकमा केही महिनादेखि प्रत्येक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको थियो । डेङ्गुको उच्च जोखिम रहेको दस जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि समावेश छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर