खेल क्षेत्रमा राजनीति हावी भएकै कारण विकास हुन सकेन : अध्यक्ष डा. पाण्डे

काठमाडौं । नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघले खेलकुद क्षेत्रको विकासलाई दृष्टिगत गर्दै कर्णाली प्रदेशमा आगामी कात्तिक १६–१७ गते आयोजना गर्न लागेको तेस्रो राष्ट्रिय खेलको अन्तिम तयारी गरेको छ । नेपाली खेल जगतले विश्वमाझ बिस्तारै आफ्नो प्रभुत्व जमाउन गरेको सुरुवातसँगै नेपाली खेल क्षेत्रमा आफ्नो उपस्थितिलाई बलियो बनाउन तेस्रो राष्ट्रिय खेलको आयोजना गर्न लागेको हो । आयोजनाका बारेमा नेपाल केन्पो खुकुरी मार्सल आर्टस् का एसियाका प्रमुख एवं नेपालका केन्द्रीय अध्यक्ष डा. पूर्णप्रसाद पाण्डेसँग केन्पो खेललगायत तेस्रो राष्ट्रिय खेल प्रतियोगिताका बारेमा केन्द्रित रहेर गरिएको कुराकानीको सारसंक्षेपः–

हालको समयलाई कसरी व्यवस्थापन गरिरहनु भएको छ ?

डा. पाण्डे : केन्पो खेलको बिस्तार र कर्णाली प्रदेशमा हुन गइरहेको तेस्रो राष्ट्रिय प्रतियोगिताको हामी तयारीको अन्तिम चरणमा छौं । छोटो समयमै नेपाललगायत विदेशमा केन्पो खुकुरी मार्सल आर्टस् को  बिस्तार गर्न सफल भएका छौं । भन्नुपर्दा केन्पोकै प्रवर्धनमै दैनिकी बित्ने गरेको छ ।

यो खेल बिधा बिस्तारको नेपालमा कस्तो सम्भावना देख्नु भएको छ ?

डा. पाण्डे : नेपालमा मार्सल आर्टस् को  बिधा धेरै छन्, यसमा पनि केन्पो नै किन भन्दा ? यस खेल बिधाले नेपालीको शान खुकुरीको पहिचानलाई महत्वकासाथ प्रस्तुत गरेको छ । नेपालमा मात्र नभएर यस खेलको पहिचान विश्वका १ सय ५२ देशमा रहेको छ । आत्मरक्षाको उचित खेल बिधाका साथै नेपालीको पहिचान खुकुरीको प्रवर्धन गर्ने खेल भएकाले नेपालमा  यसको बिस्तार अथाह रहनुका साथै खेलाडीको भविष्य राम्रै रहने देख्छु ।

तपाईंहरुको लोगोमा खुकुरी नै किन ? कसरी आयो यो सोच ?

डा. पाण्डे : हामीले व्यापक छलफलपश्चात् खुकुरीलाई लोगो ( प्रतीक चिह्न) को रूपमा चयन गर्‍यौं । यसको पनि कारण छ, विश्वमाझ नेपाली खुकुरीको पहिचान बेग्लै छ यही खुकुरीकै भरमा वीर नेपाली र गोर्खालीले विभिन्न युद्ध सहजै जितेका थिए । र, विभिन्न कारणले गर्दा खुकुरी हाम्रो पहिलो रोजाईमा परेको हो ।

तेस्रो राष्ट्रिय प्रतियोगिता कर्णाली प्रदेशमै किन ?

डा. पाण्डे : यस क्षेत्रमा खेलप्रतिको मोह र खेल क्षेत्रका विभिन्न बिधाहरुले समेत यस क्षेत्रलाई ओझेलमा पारेको अवस्थालाई दृष्टिगत गर्दै हामीले कर्णालीलाई चयन गर्‍यौं । आशा छ, हामी गरेको चयनका कारण यो क्षेत्रको अन्य खेल बिधालाई समेत प्रोत्साहन गर्नेछ ।

नेपालमा खेल क्षेत्रमै लागेर जीवनयापन गर्ने अवस्था निर्धारण गर्न सक्ने वातावरण छ त ?

डा. पाण्डे : अवश्य पनि यस्तो वातावरण तयार गर्न सकिन्छ । खेल क्षेत्रमा राजनीति हावी भएकै कारण पनि सोचअनुसारको विकास हुन नसकेको हो जस्तो मलाई लाग्छ । कुनै राष्ट्रिय खेलाडीले देशका लागि विदेशमा गएर खेल्दै गर्दा कुनै दुर्घटना भनौं वा सामान्य चोटपटक लागेमा समेत उपचार गर्ने वातावरण छैन । यसकारण पनि खेलाडीका लागि कल्याणकारी कोष, बीमाजस्ता महत्वपूर्ण विषयमा राज्यले ध्यान दिन सक्नुपर्छ । केन्पो खेलाडीलाई खेल क्षेत्रमै लागेर जीवनयापन गर्न सक्ने योजनाका साथ हामी लागिपरेका छौं । खेलाडी देशका गहना मात्र हो भन्ने नारालाई व्यवहारमा उतार्ने काम अब केन्पो खेलले प्रष्ट्याउने छ ।

केन्पो खेलमा आवद्ध खेलाडीलाई कसरी रोजगारीको व्यवस्थापन गर्ने योजना बनाउनु भएको छ त ?

डा. पाण्डे : सबैभन्दा पहिला खेल क्षेत्रको विकासमा राज्यले जतिमात्रामा बजेट विनियोजन गर्नुपर्ने हो त्यो गर्न सकिरहेको छैन । विनियोजन गरिएको रकमसमेत वास्तविक खेलाडीको संरक्षण र उत्थानमा लगाउन सकिएको देखिँदैन् । हामीले पञ्चवर्षीय योजना बनाएका छौं ।  जसअन्तर्गत कवर्ड हल निर्माण, स्थानीय तहसँगको सहकार्य र समन्वयका आधारमा हरेक स्थानमा केन्पो खेलको बिस्तारलगायतका रणनीति रहेका छन् । हामीले ढुक्क र स्पष्टताका साथ काम गर्दै गर्‍यौं भने खेलाडीलाई रोजगारी प्रदान गर्न कुनै ठूलो विषय हुँदैन् ।

नेपाली राजनीति र खेल क्षेत्रलाई कसरी हेर्न सकिन्छ ?

डा. पाण्डे : नीतिको पनि राजनीति र खेल क्षेत्र एक अर्काका लागि पर्यायवाची हुन् । स्वस्थ रहन खेल क्षेत्रको विकास गरिनुपर्छ तब मात्र नागरिक स्वस्थ भए राजनीतिमा आउने पनि स्वस्थ रहन्छन् । नेपालमा खेलकुद मन्त्रालय कुनै पनि नेताको पहिलो रोजाईमा पर्न नसक्नुले पनि नेपाली राजनीतिज्ञहरुको खेल क्षेत्रप्रतिको हेय दृष्टिकोण प्रष्ट्याउँछ । नेपाललाई विश्वमाझ पहिचान दिलाउँदै खेलकै माध्यमबाट विभिन्न देशसँग समबन्ध बिस्तार गर्न सकिने कूटनीतिक पाटोको समेत ज्ञान नभएका राजनीतिक दलकै नेताका कारण नेपालमा खेल क्षेत्रले सोचेअनुसारको आकार लिन नसकेको हो जस्तो मलाई लाग्छ ।

खेल क्षेत्रको विकासको वाधक भनेकै नेपालको गलत नीति हो त ?

डा. पाण्डे :  नीति राम्रो भएर के गर्ने ? त्यसलाई कार्यान्वयन गर्ने पक्षले केवल कागतमै सीमित गरी व्यवहारमा लागू नगरे पछि के हुन्छ? धेरै टाढाको उदाहरण हेर्नै पर्दैन भर्खर सम्पन्न भएका खेलमा राज्यले पुरस्कृत गर्ने भनेको नगद राशि हालसम्म पनि दिइएको छैन । मुखले भनेर मात्र हुँदैन खेल क्षेत्रको विकास । नेपालमा अधिकांश खेलाडी आर्थिक रूपमा सम्पन्न छैनन् । जसकारण पनि राज्यले आफूले बनाएको नीतिलाई व्यवहारमा लागू गरिदिए मात्र पनि खेलाडीका लागि ठूलो राहतको विषय बन्थ्यो जस्तो मलाई लाग्दछ ।

अन्त्यमा …?

डा. पाण्डे :  केन्पो खुकुरी मार्सल आर्टस् कर्णाली प्रदेशको राजधानीमा आयोजना गर्न लागेको तेस्रो राष्ट्रिय प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहयोग जारी र छ निरन्तर रहोस् भन्न चाहन्छु । आफ्ना भनाइ राख्ने मौका प्रदान गरेकोमा रफतन्युजडटकम परिवारलाई धन्यवाद ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर