भक्तपुरको सल्लाघारीमा खसीबोका र च्याङ्ग्रा किन्नेको भीड

भक्तपुर । भक्तपुरको सल्लाघारीमा दसैँका लागि च्याङ्ग्रा, बोका, खसी लिनेको भीड लागेको छ । दसैँका लागि मात्रै बजार लाग्ने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टका नाममा रहेको ९९ रोपनी चौरमा भक्तपुर, काठमाडौं काभ्रपलाञ्चोकदेखिका उपभोक्ताको भीड लागेको छ ।

आज फूलपातीका दिन सवारीसाधनमा बलि दिनका लागि बोका लिन आउने र दसैँका लागि आवश्यक मासुका लागि च्याङ्ग्रादेखि खसी लिन आउनेको भीड लागेको छ । दसैँका लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्ग्राको मूल्य बढेपछि च्याङ्ग्राको बिक्री कम भएको छ । यहाँ चीनबाट ल्याइएको चिनियाँ च्याङ्ग्राभन्दा नेपालका च्याङ्ग्रा प्रतिकिलो तीन सय ५० सस्तोमा बिक्री भइरहेको छ ।

व्यापारी उद्धव खड्काले बझाङबाट ल्याएको नेपाली च्याङ्ग्रा प्रतिकिलो एक हजारमा बिक्री भइरहेको र चिनियाँ च्याङ्ग्रा प्रतिकिलो एक हजार तीन सय ५० मा बिक्री भइरहेको जानकारी दिए । यो मूल्य गत वर्षको भन्दा केही बढी हो । यहाँका व्यापारीले २०७८ सालमा जिउँदो च्याङ्ग्रा प्रतिकिलो आठ सय र २०७९ सालमा प्रतिकिलो एक हजार तीन सयमा बिक्री गरेको र यस वर्ष एक हजार तीन सय ५० मूल्य राखेर बिक्री गरेका छन् ।

च्याङ्ग्रा तयारी मासुको मूल्य पनि यस वर्ष निकै बढाएका छन् । सल्लाघारीको चौरमा तयारी च्याङ्ग्राको मासु प्रतिकिलो दुई हजार आठ सयमा व्यापारीले बिक्री गरेको छन् । २०७८ सालमा च्याङ्ग्राको तयारी मासु प्रतिकिलो एक हजार सात सय र २०७९ सालमा दुई हजार ६ सयमा बिक्री गरेको मासु यस वर्ष दुई हजार आठ सयमा बिक्री गरेको व्यापारीहरुले बताएका छन् । सल्लाघारीमा खसी भने व्यापारीले प्रतिकिलो ६ सय ८० देखि ६ सय ९० सम्ममा बिक्री गरेको छन् । यहाँ करिब दुई हजार वटा खसी ल्याएकामा व्यापारीले ६ सय ८० भन्दा कम मूल्यमा बिक्री नगरेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर