काठमाडौं उपत्यका छाडेर घर जानेको लर्को

काठमाडौं । विजयादशमी नजिकिँदै गर्दा काठमाडौं उपत्यका छाडेर घर जानेको लर्को लागेको छ । रोजगारी, अध्ययन तथा अन्य पेसा–व्यवसायका लागि उपत्यकामा रहेकाहरू धमाधम घर फर्किरहेका छन् । आजदेखि सरकारी बिदा समेत शुरु भएकाले घर फर्किनेको घुइँचो बढेको छ ।
कलङ्की, बालाजु, बल्खु, कोटेश्वरलगायतका ठाउँमा बिहानैदेखि यात्रुको घुइँचो लागेको छ । उपत्यका भित्रका सार्वजनिक गाडीमा पनि यात्रुको थामी नसक्नु भिड छ । भीडका कारण कलङ्की, बल्खु, कोटेश्वर, जडीबुटीमा जाम समेत बढेको छ । यस्तै, गाडी छुट्ने नयाँ बसपार्कमा पनि घुइँचो बढेको छ । यात्रु र गाडीको चापका कारण ट्राफिक व्यवस्थापन गर्न हम्मेहम्मे परेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार हिजो एकैदिन काठमाडौं उपत्यकाबाट एक लाखभन्दा धेरै बाहिरिएका छन् । हिजो एक लाख १२ हजार ४ सय १६ जना बाहिरिएका छन् । यो सङ्ख्या आज झन् बढ्ने छ ।
यस्तै, गाडी रिजर्भ गरेर जानेहरुको सङ्ख्या पनि उत्तिकै धेरै छ । गाउँ घर फर्किन लागेका यात्रुको यात्रा भने कष्टकर बनेको छ । टिकट नपाउने, टिकट पाए पनि तोकिएको सिट नपाउने जस्ता समस्या भोग्नु परेको छ । यस्तै, सडकमा भएका खाल्डाखुल्डीका कारण थप यात्रा कष्टकर बनिदिएको छ । यात्राका क्रममा कुनै समस्या परे वा बढी भाडा तिर्न परे ठाउँठाउँमा रहेका यात्रु सहायता कक्ष वा प्रहरीमा गुनासो गर्न ट्राफिक प्रहरीले आग्रह गर्दै आएको छ । यसपालि घटस्थापनादेखि अहिलेसम्म ६ लाखभन्दा धेरै यात्रु बाहिरिएका अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर