लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसलाई मंगलबार २ –१ ले हराउँदै फिफा विश्वकप २०२६ अन्तर्गत एसियन छनोटको दोस्रो चरणमा स्थान पक्का गरेको छ । गत साता दशरथ रंगशालमा नेपाल र लाओसले १–१ को बराबरी खेलेका थिए । नेपालले लाओसलाई समग्रमा २–१ ले हराउँदै दोस्रो चरण स्थान सुरक्षित गरेको हो । फिफा वरीयतामा लाओस १८८औँ र नेपाल १७४औँ स्थानमा छ । नेपालले वरीयतामा आफूभन्दा तल रहेको टोलीमाथि जित निकाल्न निकै मिहिनेत गर्नुपरेको थियो ।

अब नेपाल दोस्रो चरणको समूह ‘एच’मा युनाइटेड अरब इमिरेट्स (युएई), यमन र बहराइनसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि नै भएको दोस्रो चरणको ‘ड्र’मा यसै समूहमा युएई र बहराइन थिए । यमनले श्रीलंकालाई समग्रमा ४–१ ले पराजित गर्दै दोस्रो चरणमा पुगेको हो । दोस्रो चरणमा एक–अर्कासँग होम एन्ड अवेको आधारमा हुनेछ ।

होम एन्ड अवे गरी नेपालले ६ खेल खेल्न पाउनेछ । समूहका शीर्ष दुई टोली तेस्रो चरणमा पुग्नेछन् । लाओसको घरेलु मैदानमा नेपाललाई महŒवपूर्ण जित दिलाउने क्रममा मनीष डाँगीले एक मात्र निर्णायक गोल गरेका थिए । उनले खेलको ५३औँ मिनेटमा अञ्जन विष्टको सटिक पासमा गोल गरेका हुन् । एसियन छनोटको दोस्रो चरण स्थान पक्का गर्न नेपाल र लाओसलाई जित आवश्यक थियो ।

लाओसको घरेलु मैदानमा नेपालले पहिलो हाफमा सुस्त प्रदर्शन गरेको थियो । मध्यान्तरपछि खेलमा सुधार गर्दै नेपालले लाओसमाथि दबाब राख्यो । नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले दोस्रो लेगमा तीन खेलाडी परिवर्तन गरेका थिए । लाओसविरुद्ध रक्षक अमृत श्रेष्ठले नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका छन् । उनी अन्तिम इन्जुरी समयमा जिलेस्पीजंग कार्कीको स्थानमा मैदान प्रवेश गरेका थिए ।

दुवै टोलीका गोल प्रयास असफल
लाओसले आफ्नो घरेलु मैदानमा फाइदा लिन सकेन । नेपालविरुद्ध आक्रामक खेल प्रस्तुत गर्ने दाबी गरेको लाओसले मध्यान्तरसम्म खासै गतिलो प्रदर्शन गर्न सकेन । नेपाली खेलाडीले पनि पहिलो हाफमा गोल अवसर चुकाएका थिए । खेलको २२औँ मिनेटमा उत्सव राईको क्रसमा डिबक्सभित्र अञ्जनले गरेको हेडिङ पोस्टनजिक हुँदै बाहिरिएको थियो । यसअघि खेलको १८औँ मिनेटमा लाओसका मिकेल भानको सशक्त प्रहार नेपालका गोलरक्षक तथा कप्तान किरणकुमार लिम्बूले बचाएका थिए । खेलको २९औँ मिनेटमा फौथाभोङ साङभिलेको पासमा चोनी वानपासेर्थको प्रहार क्रसबारनजिक हुँदै गएको थियो ।

दोस्रो हाफमा सुधारिएको खेल
दोस्रो हाफमा नेपालले सुधारिएको प्रदर्शन गरेको थियो । युवा खेलाडीले भरिएको नेपालले मध्यान्तरपछि लाओसमाथि दबाब राख्ने प्रयास गरेको थियो । खेलको ६५औँ मिनेटमा मनीषको प्रहारलाई लाओसका गोलरक्षक सेसेभाटले बचाए । खेलको ७३औँ मिनेटमा जिलेस्पीको हेडिङ पोस्टनजिक हुँदै बाहिरिँदा नेपालले दोहोरो अग्रता लिने अवसर गुमाएको थियो । खेलको ८२औँ मिनेटमा अञ्जनको हेडिङले गोलपोस्टको दिशा लिन सकेन । उनले प्रहार गरेको हेडिङ बल पोस्टभन्दा माथि गएको थियो । खेलको अन्तिम इन्जुरी समयमा नेपालका गोलरक्षक किरणले उत्कृष्ट बचाउ गर्दै लाओसलाई बराबरी गर्न दिएनन् । किरणले ६ यार्ड बक्सभित्रबाट दायाँ डाइभ गर्दै उत्कृष्ट बचाउ गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर