साउन र भदौमा दुई खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा अर्थतन्त्रका सबैजसो मुख्य सूचक सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार दुई महिनामा चालु खाता २३ अर्ब ५० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको साउन र भदौमा चालु खाता ३६ अर्ब ८४ करोड रुपैयाँले घाटामा रहेको थियो ।

यस्तै प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब रुपैयाँले धनात्मक रहेको छ । अघिल्लो वर्षको २ महिनामा प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाख रुपैयाँले ऋणात्मक रहेको थियो । यस्तै शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको साउन र भदौमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोड रुपैयाँले घाटामा रहेको थियो । यस्तै गएको असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति दुई महिनामा ३ दशमलव ९ प्रतिशतले बढेर भदौ मसान्तमा १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १२ अर्ब १ करोड डलर पुगेको छ ।

यसैगरी चालू आर्थिक वर्षको दुई महिनामा दुई खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा रेमिट्यान्स २२ दशमलव १ प्रतिशतले बढेर २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ पुगेकाे हो । गएको आर्थिक वर्षको पहिलो २ महिनामा रेमिट्यान्स झन्डै २० प्रतिशतले बढेको थियाे । यस्तै अमेरिकी डलरमा रेमिट्यान्स १७ दशमलव ७ प्रतिशतले बढेर १ अर्ब ७३ करोड पुगेको छ ।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा भने कमी आएको छ । साउन र भदौमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या २८ दशमलव ३ प्रतिशतले कमी आई ७४ हजार ४ सय ५५ जना कायम भएको छ । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा १८ दशमलव ३ प्रतिशतले कमी आई ३२ हजार ४ जना कायम भएको छ । गएको वर्षको २ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या साढे ७० प्रतिशतले बढेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर