नेपालमा दलाल पूँजीपति वर्गको हाबी : अध्यक्ष बिजुक्छेँ

भक्तपुर ।  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपालमा दलाल पूँजीपति वर्गको हाबी भइरहेको बताएका छन् ।
भक्तपुर ट्रक व्यवसायी संघ (रुपान्तरित) भक्तपुर ट्रक व्यवसायी प्रा.लि.को २२, २३ र २४ औं वार्षिक साधारणसभा तथा ८ औं अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले नेपालमा दलाल पूँजीपति वर्गको हाबी भइरहेको बताउँदै राष्ट्रिय पूँजीपति वर्ग मिलेर विदेशी दलाल र पूँजीपति वर्गको विरोधमा संघर्ष गर्नु आवश्यक भएको  बताए ।
उनले हातहतियार बोक्ने मान्छेजस्तै सवारीसाधन भएका मानिस पनि सचेत हुनुपर्ने बताउँदै सरकारले सवारीचालकहरुलाई लाइसेन्स दिने बेला ध्यान दिनुपर्ने, राजमार्गभन्दा १५—२० मि. टाढा बस्ती बसाल्नुपर्ने र सवारीसाधन खरिद गर्नुअघि ग्यारेजको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
देशको नीति निर्माण गर्ने थलो संसद राम्रो नभएसम्म देशको अवस्था राम्रो नहुने बताउँदै उनले सदनमा व्यवसायीहरू पुग्न सके सहज हुने तथा देशलाई माया गर्ने र देशको हितमा काम गर्ने कर्मचारीहरूको बाहुल्यता भए देशको विकास छिटो हुने बताए ।
बिजुक्छेँले पार्किङको लागि भक्तपुर नपाले ठाउँ ठाउँमा ग्यारेज निर्माण गर्नुपर्ने बताउँदै सरकारले एउटै देशको सवारीसाधन खरिद गर्न बन्द गर्नुपर्ने र विदेशीहरूको बैंकमा पैसा राख्न नहुने धारणा राखे ।
उनले व्यवसायीहरूमा राष्ट्रिय भावना भएन भने ट्रक व्यवसायी, अर्बपति, खर्बपतिहरू नाङ्ले पसलमा झर्ने स्थिति आउन सक्ने बताए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारले हचुवाको भरमा वर्षौंसम्म जग्गाको कित्ताकाँट रोकेको कारण देशको आर्थिक कारोबारमा समेत असर परेको बताए ।
नेपालमा चरम बेरोजगारी, राजनैतिक अस्थिरता, भ्रष्टाचारका कारण उत्पन्न आर्थिक संकटका कारण बितेको १९ महिनामा २४ लाख युवाहरुले नेपाल छाडेको तथ्यांक रहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले गत आ.व. २०७९-८० मा श्रम रोजगारी स्वीकृतिमा नेपालका ८ लाख र अध्ययन गर्नको लागि १ लाख १० हजार युवाहरु विदेशिएको तथ्यांक उक्त कार्यक्रममा प्रस्तुत गरे ।
उनले भने , सार्वजनिक तथ्यांकअनुसार यो आर्थिक वर्षमा चीनका ११ करोड, भारतका ८० लाख र बंगलादेशका २० लाख पर्यटकहरु विदेश भ्रमणमा जाने रेकर्ड छ । त्यसको ५ प्रतिशत मात्र नेपाल आउने वातावरण बनाउन सके देशको लागि ठूलो टेवा पुग्ने देखिन्छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले भूकम्पबाटे समयमा ठूलो चुनौतीको बीच काम गरेको अनुभव सुनाउँदै यातायातलाई प्रविधिसँग जोड्नुपर्ने र यातायात सुधारको लागि कार्यदल गठन भएको उनले सोही अवसरमा बताए  ।
नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर श्वारले यातायात व्यवसायीहरूको समस्या सरकारसमक्ष राख्ना पनि सरकारले गम्भीरता पूर्वक नलिएको बताउँदै यातायात व्यवसायीहरू नागरिकहरूप्रति जवाफदेही हुनुपर्ने बताए ।
भक्तपुर जिल्लाका प्रजिअ रोशनीकुमारीले अपराधी नियन्त्रणमा ट्रक व्यवसायी संघले सहयोग गर्दै आएकोमा धन्यवादज्ञापन गर्दै सवारी चालकहरूको गतिविधि व्यवस्थित गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुनुपर्ने बताए ।
भक्तपुर ट्रक व्यवसायी संघका अध्यक्ष लक्ष्मीप्रसाद गोराको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव मानन्धरले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खबर