आज घटस्थापना, शैलपुत्रीको विशेष पूजा आराधना गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दूहरूको महान् पर्व बडादशैंको पहिलो दिन आज आइतबार ‘शैलपुत्री’ दुर्गाभवानीको पूजा गरी घटस्थापना गर्ने र जमरा राख्ने परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समिति विकास समितिका अनुसार, घटस्थापना गर्ने साइत आज बिहान ११ बजेर २९ मिनेटमा परेको छ । यो दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नुअगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ । दसैं पर्वलाई असत्यमाथि सत्य र आँसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाउने प्रचलन छ ।

नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा या दशैंघरमा जमरा राखिन्छ । माटाको घट (कलश) स्थापना गरी जमरा राख्ने गरिन्छ । घटस्थापनाका दिन दुर्गापूजासँगै विभिन्न शक्ति पीठको दर्शन गर्ने चलन छ। विशेषगरी नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, दक्षिणकाली, भद्रकाली, दन्तकाली, सिद्धकाली, गुह्येश्वरी, विन्ध्यवासिनी, छिन्ताङदेवी पाथीभरा, मनकामना, वागीश्वरीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्न भक्तजनको घुइँचो लाग्छ ।

जमरा कसरी राख्ने ?

–समस्त देवी, देवताको आह्वान गर्दै दियो, कलस र गणेशको पूजा गर्ने । फलादी र नैबेद्य अर्पण गर्ने ।

–शौभाग्य वस्त्रसहित देवी शक्ति स्वरूपा दुर्गाको पूजासहित आरती गर्ने । दुर्गा सप्तसती महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्ने ।

–सबै देवताको पूजा गरिसकेपछि नवरात्रिको पहिलो दिन शैलपुत्रीको नाममा उपलब्ध भएका सामग्रीका साथ पूजा अघि बढाउने । चोखो स्थानबाट माटो अथवा बालुवा ल्याउने र गाईको गोबरले लिपपोत गरिएको कोठामा जौ, मकै, गहुँलगायतलाई विजारोपण गरी गर्ने । जसलाई आम भाषामा जमरा छर्ने भनिन्छ ।

–जमरा राख्दा वस्त्रसहित सबै सामान शुद्ध गर्नुपर्छ । त्यसपछि आह्वान गर्नुपर्ने देवी, देवताको आह्वान गरी पूजा गर्ने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर