विदेशबाट नेपाल फर्कने यात्रुले पाउने यस्ता छन् सुविधा

काठमाडौं । धेरैजसोले विदेशबाट आउँदा सुन, मोबाइल र टेलिभिजन लिएर आउने गरेको पाइन्छ । ती सबै बस्तु नेपाल ल्याउन त पाइन्छ तर सीमित मात्रा र संख्यामा मात्र । त्यसैले पनि कुन बस्तु कति वटासम्म ल्याउन पाइन्छ भन्नेबारे ज्ञान हुनु जरुरी छ।

अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउँदा यस्ता वस्तुहरू कतिसम्म ल्याउन पाइन्छ भनेर तोकेको छ । यहाँ हामीले विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा ल्याउन पाउने सुनका गहना, मोबाइल तथा टेलिभिजनसम्बन्धी पछिल्लो व्यवस्था उल्लेख गरेका छौँ ।

यदि कोही महिला विदेशबाट आउँदै छन् भने उनले ५० ग्रामसम्मको सुनको गहना ल्याउन पाउनेछन् । जसको भन्सार तिर्नु पर्दैन । तर, पुरुषको हकमा भने त्यो सीमा कम छ । पुरुषले २५ ग्रामसम्मको सुनको गहना साथमा लिँदा भन्सार लाग्दैन । त्यो भन्दा बढीको भने भन्सार तिर्नुपर्ने हुन्छ ।

एक जना व्यक्तिले (महसुल तिर्नु नपर्ने महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक) थप दुई सय ग्राम सुनको गहना भन्सार विन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउँछन् । तर, गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएको सुनलाई गहनाको मान्यता प्राप्त हुँदैन।

विदेशबाट फर्किदा धेरैले ल्याउने भनेको मोबाइल फोन पनि हो । विदेशबाट फर्किने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन । श्रम स्वीकृति लिएर लगातार ६ महिना भन्दा बढी विदेशमा काम गरि फर्केका यात्रुहरूले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाइन्छ । तर, यस्तो मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरि भन्सार प्रक्रिया भने पुरा गर्नु पर्छ ।

त्यस्तै, श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरि फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन । तर, श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरि फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्चसम्मको टेलिभिजन मात्र भन्सार नतिरी ल्याउन पाउँछन् । यसबाहेक अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर