अमेरिकी विदेशमन्त्री ब्लिङ्केन अरबको भ्रमणमा

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले शुक्रबार अरब मुलुकका राजधानीहरूको भ्रमण सुरु गरेका छन् । हमासको आतङ्कवादी हमलापछि इजराइलले गाजापट्टीमा सम्भावित ठूलो हमलाको तयारी गरिरहेको बेला हमासमाथि अरब राष्ट्रहरूको दबाब बढाउने खोजीमा उनले अरब मुलुकहरूको भ्रमण गरेका हुन् ।

उनले लामो समयदेखिको अमेरिकाको साझेदार जोर्डनका राजा अब्दुल्लाह द्वितीय र प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बाससँग अम्मानमा भेट गर्नेछन् । त्यसपछि उनी कतार, साउदी अरेबिया, इजिप्ट र संयुक्त अरब इमिरेट्सको भ्रमणमा जानेछन् । गत शनिबार हमासको आश्चर्यजनक हमलापछि अमेरिकी सहयोगी इजरायलसँग अटुट एकताको प्रतिबद्धता व्यक्त गर्दै ब्लिङ्केनले बिहीबारको दिन तेल अभिभमा बिताए । हमासको उक्त आक्रमणमा इजरायलमा एक हजार दुई सयभन्दा बढीको मृत्यु भएको छ भने एक सय ५० भन्दा बढीलाई हमास लडाकु समूहले बन्धक बनाएको छ ।

हमासको आक्रमणपछि इजरायलले गाजापट्टीमा गरेको हमलामा एक हजार चार सयभन्दा बढी मारिएका छन् । साथै इजरायलले गाजापट्टीमा खाद्यान्न, पानी र विद्युत् आपूर्ति बन्द गरिदिएको छ । हमासको लामो समयदेखि सम्बन्ध रहेको कतारलाई बन्धकहरूलाई मुक्त गराउन मध्यस्थकर्ताको रूपमा हेरिएको छ ।

“द्वन्द्वलाई थप चर्काउनबाट रोक्न सहयोग गर्न र बन्धकहरूलाई बिनाशर्त तुरुन्त रिहा गर्न हमाससँग आफ्नो प्रभावको प्रयोग गर्न अरब मुलुकहरूमाथि दबाबलाई जारी राख्नेछौँ”, तेल अभिभमा बिहीबार अबेर ब्लिङ्केनले भने, “अरब क्षेत्रलाई अधिक शान्तिपूर्ण, अधिक समृद्ध, अधिक सुरक्षित र अधिक एकीकृत बनाउनका लागि हाम्रो सकारात्मक दृष्टिकोणलाई कसरी साकार बनाउन सक्छौँ भन्नेबारेमा पनि हामी छलफल गर्नेछौँ, वास्तवमा यो एउटा विकल्प हो र केही हदसम्म यो विकल्प हमासको कामभन्दा पनि स्पष्ट भएको छ ।”

हमासको आक्रमणभन्दा केही साताअघि साउदी अरेबियाले इजरायलसँगको सम्बन्धलाई सामान्यीकरण गर्ने अमेरिकी नेतृत्वको कूटनीतिको प्रगतिबारे उल्लेख गरेको थियो । इस्लामहरूको दुई पवित्र स्थलको संरक्षकसमेत रहेको रूढिवादी साउदी अरेबियाका लागि उक्त कूटनीति ऐतिहासिक कदम हो । इजरायलसँग शान्ति कायम गर्ने पहिलो अरब मुलुक इजिप्टसँग अमेरिकी अधिकारीहरूले गाजाबाट बन्धकहरूलाई बाहिर निकाल्न सुरक्षित कोरिडोरको योजनामा काम गरिरहेका छन् । इजिप्ट गाजाको सीमा पनि हो ।

गाजा छोड्न वा त्यहाँबाट बाहिर निस्कन चाहने नागरिकहरूका लागि सुरक्षित बाटोको सम्भावनाबारे इजरायलसँग आफूले कुरा गरेको ब्लिङ्केनले बताउनुभयो । हमासको लामो समयदेखिको शत्रु र झण्डै ८८ वर्ष पुग्नुभएका महमुद अब्बासको प्यालेस्टिनी अथोरिटीले पश्चिम किनारमा सानो स्तरको स्वायत्तता पाएको छ । पश्चिम किनारमा रहेको गाजापट्टीमाथि हमासको नियन्त्रणका कारण इजरायलले १७ वर्षदेखि गाजापट्टीमाथि प्रतिबन्ध लगाएको छ ।

राष्ट्रपति जो बाइडेन र अन्य डेमोक्र्याट्सहरूको नेतृत्वमा रहेको अमेरिकाले प्यालेस्टिनी अथोरिटीलाई ठूलो मात्रामा समर्थन गर्दै आएको छ । प्यालेस्टिनी अथोरिटीलाई इजरायलसँगको दीर्घकालीन शान्तिका लागि उनीहरूले उत्तम विकल्पका रूपमा हेर्दै आएका छन् । तर हिंसा रोक्न अब्बास यथेष्टरूपमा प्रतिबद्ध नभएको भन्दै इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले प्यालेस्टिनी अथोरिटी र अब्बासलाई पन्छाउन खोजेका छन् । उनको उग्र दक्षिणपन्थी सरकारले दुई राज्य समाधानको सम्भावनालाई अस्वीकार गर्दै आएको छ । यसअघि ब्लिङ्केनले हमासले गरेको हमलाका बारेमा अब्बाससँग टेलिफोनमा कुराकानी गर्दै हिंसाको भर्त्सना गर्न र वेष्ट व्यांकमा स्थिरता कायम राख्न आग्रह गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर