कोशीमा नेपाली कांग्रेसमा फूट, मुख्यमन्त्रीमा दुई दाबेदार

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दुईजनाको दाबी पेस भएको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्न प्रदेश प्रमुखबाट दिइएको समयभन्दा एक दिनअघि दुई जना प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेस गरेका हुन् ।

गठबन्धन दलका शीर्ष नेताहरूबीच बिहीबार दिउँसो काठमाडौंमा भएको सहमतिअनुसार नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अपराह्न ५ बज्नुभन्दा केहीबेरअघि प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरे । उनले गठबन्धन दलका नेताको समर्थन रहेको पत्रसहित दाबी पेस गरेका हुन् ।

यसैगरी शीर्ष नेताहरूबीच भएका सहमतिप्रति असन्तुष्ट नेपाली कांग्रेसका आठ जना सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेसका सांसद केदार कार्कीले नेकपा एमालेका ३९ सांसदको हस्ताक्षरसहितको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष आज दाबी पेस गरेका छन् ।

एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीसमेतको उपस्थितिमा उनीहरू प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएर दाबी पेस गरेका हुन् । शीर्ष नेताहरूबीच भएको सहमतिको विपक्षमा हस्ताक्षर गर्ने सबै सांसद कांग्रेस नेता डा. शेखर कोइराला पक्षको रहेका छन् ।

उनीहरूले  कांग्रेसको नेतृत्वमा कोशीमा सरकार गठन गर्नुपर्ने तर कांग्रेसले यसअघि मुख्यमन्त्रीको रूपमा अगाडि सारेको व्यक्तिलाई नै पुनः अगाडि सार्न नहुने अडान लिँदै आएका थिए । नेपाली कांग्रेसका सांसदहरू केदार कार्की, रामकुमार खत्री, शमशेर राई, इन्दिरा थापा, लीलाकुमारी राई, गोविन्द गिरी, मानबहादुर लिम्बू र सुनिताकुमारी गुरुङले कार्कीको पक्षमा हस्ताक्षर बुझाएको छ ।

संविधानको धारा १६८ को उपधारा ५ (२) बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

(आफ्नो दाबी पेश गर्दै गठबन्धनका नेता आङ्बो, नीलो रङको कोटमा)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर