रुसी राष्ट्रपति पुटिन किर्गिजस्तान भ्रमणमा

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन किर्गिजस्तान पुगेका छन् । गत मार्चमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछिको उनको यो पहिलो विदेश भ्रमण हो ।

युक्रेनी बालबालिकालाई देश निकाला गरेको अभियोगमा अदालतले पुटिनको खोजी गरिरहेको छ । आइसिसीका सदस्य राष्ट्रहरूमा राष्ट्रपति पुटिनले पाइला राखेको अवस्थामा ती देश उनलाई गिरफ्तार गर्न बाध्य हुनेछन् । यद्यपि किर्गिजस्तानले आइसिसीको सदस्यता लिएको छैन । रुसी समाचार समितिहरू तास, इन्टरफ्याक्स र रिया नोभोस्तीले बिहीबार बिहान पुटिन किर्गिजस्तान पुगेको जनाएको छ ।

स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमण्डलको एक शिखर सम्मेलनमा भाग लिने सिलसिलामा राष्ट्रपति पुटिनले आफ्ना बेलारुसी सहयोगी अलेक्जेन्डर लुकासेन्को र अन्य क्षेत्रीय नेताहरूसँगै आफ्ना किर्गिज समकक्षी सादिर जापारोभसँग भेट गर्ने कार्यक्रम छ ।

सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेपछि उनले सायदै रुस छाडेका छन् । गत डिसेम्बरमा बेलारुस र किर्गिजस्तानको आफ्नो अन्तिम विदेश भ्रमणसँगै यसै वर्ष राष्ट्रपति पुटिनले रुसले युक्रेनको कब्जा गरेको भागमा भ्रमण गरेका थिए ।

अब उनले उत्तर कोरियाका साथै चीनको भ्रमण गर्ने योजना बनाइरहेका छन् । मस्कोले पुटिनलाई विदेशमा पक्राउ गर्ने सम्भावनालाई युद्धसँग तुलना गर्दै पक्राउ पुर्जीलाई ‘गैरकानुनी’ को संज्ञा दिएको छ । यद्यपि व्यवहारतः रुसले यसमा सावधानी अपनाएको छ । अगस्ट महिनामा आइसिसी सदस्य मुलुक दक्षिण अफ्रिकामा भएको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुसले पुटिनको सट्टा विदेशमन्त्री सर्गेई लाभरोभलाई पठाएको थियो ।

युक्रेनमाथि पूर्णस्तरको आक्रमणपछि पुटिनलाई पश्चिमी दुनियाँमा अवाञ्छित व्यक्ति बनाइदिएको छ । आइसिसीको उक्त निर्णयले पुटिनलाई संसारको ढोकाको ठुलो हिस्सा बन्द गरिदिएको छ । रोम विधानलाई एक सय २३ मुलुकले अनुमोदन गरेका छन् । उक्त विधानलाई आइसिसीका सदस्यहरूले पालना गर्न आवश्यक छ ।

ब्रिक्स सम्मेलनको आयोजक राष्ट्र दक्षिण अफ्रिकाले सम्मेलनमा भाग लिन पुटिनलाई निम्तो दिएपछि आइसिसीको सदस्यका हिसाबले उसलाई कानुनी टाउको दुखाइको विषय बनेको थियो । यद्यपि अन्तिम क्षणमा मस्कोले पुटिनको बदलामा विदेशमन्त्रीलाई पठाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर