मोदीको गुन्जी भ्रमणबारे सरकारसँग जानकारी माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको सीमावर्ती कालापानीको भ्रमणको सम्बन्धमा सरकारको जवाफ माग गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको आकस्मिक समयमा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री मोदीले नेपाली भूमि गुन्जीको भ्रमण गरेको भन्दै यसको सम्बन्धमा सरकारले संसद्लाई जानकारी गराउनुपर्ने बताए । उनले मोदी नेपाल आउँदा सरकारले कुनै स्वागत नगरेको र देशलाई कुनै जानकारी नदिइएको टिप्पणी गरे । लामिछानेले छिमेकी देशको प्रधानमन्त्री नेपाल आउँदा कुनै औपचारिक कार्यक्रमसमेत नभएको बताए ।

उहाँले भने, ‘हाम्रो मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हाम्रो भू–भागमा आउनुभएको रहेछ । छिमेकी राष्ट्रको प्रधानमन्त्री हाम्रो भू–भागमा आउँदा सरकारले न कुनै स्वागत गरेको छ, न देशलाई कुनै जानकारी गराएको छ । भारतीय प्रधानमन्त्री आउनुभएको गुन्जी नेपालको भू–भागमा पर्छ । यसको आधिकारिकताका लागि प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गर्दा उहाँले हामीले पनि थाहा पायौँ भन्ने कुरा जानकारी गराउनुभयो । म सरकारलाई र परराष्ट्र मन्त्रालयलाई सोध्न चाहन्छु? आफ्नो देशमा छिमेकी राष्ट्रका प्रधानमन्त्रीको भ्रमणबारे सरकारले नेपालीलाई, सदनलाई जानकारी गराउनु पर्दैन ? छिमेकी राष्ट्रको त्यति ठूलो व्यक्तित्व, सरकार प्रमुख हाम्रो भूमिमा आउँदा सरकारले स्वागत गर्नु पर्दैन ? कुनै कार्यक्रम हुनु पर्दैन ? त्यसका औपचारिकताहरू हुँदैनन् ? यसबारेमा सम्मानित सदनलाई सरकारले, परराष्ट्र मन्त्रालयले वास्तविकता जानकारी गराउनु पर्‍यो ।’

सभापति लामिछानेले गुन्जी क्षेत्र नेपाली भूमि रहेको र नेपालको चुच्चे नक्सामा समेत समेटिएको उल्लेख गर्दै नेपाली भूमिमा भारतीय प्रधानमन्त्रीको भ्रमणको बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर