सन्दीप लामिछानेको मुद्दाको पेसी आज

काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दाको फाइनल पेसी बिहीबार (आज)का लागि तय भएको छ। असोजमा दुई पटक पेसी चढेर पनि अदालतबाटै स्थगित भएको सन्दीपको मुद्दामा बिहीबार फाइनल बहसको सम्भावना भएपनि निश्चित भने छैन।

यसअघि गत १ असोजमा सन्दीपको मुद्दा पेसीमै नचढी स्थगित भएको थियो। गोलाप्रथापछि मुद्दा केशवप्रसाद घिमिरेको इजलासमा तय भएपनि उनी बिदामा भएका कारण मुद्दा स्थगित हुन पुग्यो। त्यसपछि ७ असोजका लागि तय भएको सन्दीपको मुद्दा फेरीपनि पेसीमै नचढी अदालतलेनै स्थगित गरेपछि सन्दीप एसियाली खेलकुद प्रतियोगिता एसियाडका लागि चीन प्रस्थान गरेका थिए।

लगातार मुद्दा स्थगित हुँदा पछिल्लो समय मानसिक रुपमा दुवै पक्ष कमजोर हुँदै गएको सम्बन्धित वकिलहरूको तर्क छ। मुद्दा किनारा नलाग्दा सन्दीप खेलमा ध्यान केन्द्रीत गर्न सकिरहेका छैनन्। जसले आउँदै गरेको विश्वकप छनोटमा असर पर्न सक्ने सम्भावना रहेको छ। सन्दीपले फैसला चाँडो गर्नका लागि जोड दिँदै आएका छन्।

सर्वोच्च अदालतले गत १५ फागुनमानै चाँडो फैसला गर्न आदेश दिएको थियो। न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको मागबमोजिम विदेश जान अनुमति दिँदै बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्र्याक) तथा निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ) का प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको थियो। उक्त आदेश दिएको ७ महिना पुरा हुँदा पनि जिल्ला अदालतले फाइनल बहस गराउन सकेको छैन।

सन्दीपका कानुन ब्यवसायी सरोजकृष्ण घिमिरेले अदालतबाटै स्थगन नभएको अवस्थामा मुद्दाको फाइनल बहस हुन सक्ने बताए। उनले भने ‘सबै प्रक्रिया र अदालतले मगाएका कागजातहरू आइपुगेका छन्। अब बहस नहुनु पर्ने कुनै कारण छैन। यदि अदालतकै कारण स्थगित नभएमा मुद्दाको फाइनल बहस हुने विश्वास छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर