अफगानिस्तानमा भूकम्पबाट मर्नेको संख्या दुई हजार नाघ्यो

काठमाडौं । पश्चिमी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको तालिवान सरकारका प्रवक्ताले आइतबार बताएका छन्। यो दुई दशकमा मुलुकमा गएको सबैभन्दा घातक भूकम्पमध्ये एक हो।

पश्चिमी अफगानिस्तानमा शनिबार गएको शक्तिशाली पराकम्पनपछि आएको ६.३ म्याग्निच्युडको भूकम्पले ठूलो संख्यामा मानिसको ज्यान गएको देशको राष्ट्रिय प्रकोप प्राधिकरणले जनाएको छ। तर सूचना तथा संस्कृति मन्त्रालयका प्रवक्ता अब्दुल वाहिद रायनले हेरातमा भूकम्पमा परी मृत्यु हुनेको संख्या सुरुमा भनिएको भन्दा बढी रहेको बताए । ‘करिब ६ वटा गाउँ ध्वस्त भएका छन् र सयौं नागरिक भग्नावशेषमुनि दबिएका छन्’, उनले तत्काल सहयोगको लागि आह्वान गर्दै भने।

संयुक्त राष्ट्रसंघले शनिबार ढिलो गरी ३२० जनाको मृत्यु भएको प्रारम्भिक आँकडा दिएको थियो तर पछि भने यो संख्या अझै प्रमाणित भइरहेको बताएको छ। स्थानीय अधिकारीहरूले दिएको अपडेटमा ४ सय ६५ घर ध्वस्त भएको र थप १३५ घरमा क्षति पुगेको बताइएको छ । “साझेदारहरू र स्थानीय अधिकारीहरूले क्षतिको संख्या बढ्ने अनुमान गरेका छन् किनभने केही व्यक्तिहरू भत्किएका भवनहरूमुनि फसेको हुनसक्ने रिपोर्टहरूका बीच खोज र उद्धार प्रयासहरू जारी छन्,” संयुक्त राष्ट्रसंघले भन्यो।

प्रकोप प्राधिकरणका प्रवक्ता मोहम्मद अब्दुल्लाह जानले हेरात प्रान्तको जेन्डा जान जिल्लाका चारवटा गाउँमा भूकम्प र पराकम्प गएको बताए। युएस जियोलोजिकल सर्भेले भूकम्पको केन्द्रबिन्दु हेरात शहरबाट करिब ४० किलोमिटर (२५ माइल) उत्तरपश्चिममा रहेको बताएको छ । यो पछि तीन धेरै शक्तिशाली परकम्पहरू ६.३, ५.९ र ५.५ म्याग्नेच्युडका थिए । दिउँसो कम्तीमा पाँचवटा शक्तिशाली भूकम्प गएको हेरात शहरका निवासी अब्दुल शकोर समदीले बताए।

“सबै मानिसहरू घर बाहिर छन्” समदीले भने, “घर, कार्यालय, पसल सबै खाली छन् र थप भूकम्प जाने डर छ । मेरो परिवार र म हाम्रो घर भित्रै थियौं, मैले भूकम्पको धक्का महसुस गरें। सबै चिच्याउन थाले र घर भित्र फर्किन डराएर बाहिर भागे।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर