क्रिकेटर सन्दीपको मुद्दामा आज बकपत्र गराइँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको जबरजस्ती करणी (बलात्कार) को मुद्दामा घटनासँग सम्बन्धित व्यक्तिहरुको बकपत्र गराइने भएको छ। पीडित किशोरीको स्वास्थ्य जाँचमा संलग्न भनिएका डाक्टर र अर्का क्रिकेटर साहब आलम र अनिस श्रेष्ठको बुधबार बकपत्र गराउन लागिएको हो।

यसअघि साहबको बकपत्र गराउन छुटेको थियो। किशोरीको स्वास्थ्य जाँचमा संलग्न नभएका डाक्टरको बकपत्र गराइएको पाइएपछि सम्बन्धित डाक्टरको बकपत्र गराउन भन्दै गत चैत २६ गते न्यायाधीश शंकरराज बरालको इजलासले आदेश थियो।
सोहीअनुसार अहिले जिल्ला अदालत काडमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा बकपत्र गराउने काम भइरहेको छ। सन्दीपतर्फका वकिल सरोज घिमिरेले अहिले बकपत्रका लागि तोकिएका व्यक्तिहरु अदालतमा उपस्थित भएको बताए ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान रहेका लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो। १८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी( माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ। सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा ९३० को देहाय ९घ० अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ। उक्त कसुरअन्तर्गत १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

सन्दीपविरुद्ध अधिकतम १२ वर्ष जेल सजायको मागदाबी गरिएको हो। १७ वर्षकी एक किशोरीले आफूमाथि काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत भदौ २१ गते प्रहरी वृत्त गौशालमा जाहेरी दिएकी थिइन्। पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरको नगरकोटसमेत पुर्‍याएको र फेरि फर्काएर काठमाडौं ल्याइ एक होटलमा राखेर बलात्कार गरेको पीडित किशोरीले बताएकी थिइन्। पीडित किशोरीको बयानअनुसार भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले बलात्कार गरेको दाबी गरिएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर