दशैंमा १५ लाख यात्रु बाहिरिने, सहजताका लागि तत्परता

काठमाडौं ।  भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले सार्वजनिक यातायातलाई सहज बनाइने बताएका छन् । दशैं, तिहार र छठ पर्वको समयमा बढी आवतजावत हुने भएकाले सो समयमा सार्वजनिक यातायातलाई सहज बनाउने उनले बताए । प्रतिनिधिसभा अन्तर्गतको यातायात पूर्वाधार विकास समितिको आजको बैठकमा मन्त्री ज्वालाले सीमित स्रोतका बाबजुद पनि चाडबाडमा सार्वजनिक यातायात यात्रुमैत्री बनाउन सरकारले विशेष ध्यान दिने बताए ।

उनले भने, “बजेट कम भए पनि चाडबाडलाई लक्षित गरी राजमार्गको मर्मत तथा कच्ची सडक स्तरोन्नतिका लागि सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहजीकरण गर्न सरकार प्रतिबद्ध छ ।” निरन्तरको वर्षाका कारण सडक मर्मत प्रभावित भइरहेको जनाउँदै मन्त्री ज्वालाले दशैं लगायतका पर्वमा यात्रा गर्नेका लागि अग्रिम टिकट बुकिङदेखि विनासास्ती गन्तव्य पुग्ने र फर्कनका लागि सहज बनाउनका लागि मन्त्रालयले काम गरिरहेको जानकारी दिए।

यस वर्षको दशैंको अवसरमा काठमाडौं उपत्यकाबाट कम्तीमा १५ लाख यात्रु विभिन्न जिल्लामा जाने अनुमान गरिएको छ । सरकारले दशैंलगायतका चाडपर्वका लागि दैनिक उपभोग्य वस्तुलगायतमा हुनसक्ने कालोबजारी, मिसावट, कृत्रिम अभाव रोक्नका लागि प्रभावकारी संयन्त्र परिचालन गरिरहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर