भोलि बिहीबारदेखि मौसममा क्रमिक सुधार हुने

काठमाडौं । मौसममा बिहीबारदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । जल तथा मौसमविज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार भोलि बिहानदेखि मौसममा क्रमिक सुधार हुँदै जानेछ । बुधबार रातिदेखि नै वर्षा कम हुँदै जाने उनको भनाइ छ । आज भने साँझसमम नै पानी पर्ने सम्भावना छ ।

“आज दिनभर नै देशभर पानी पर्ने सम्भावना छ । रातिदेखि वर्षा कम हुँदै जाने देखिन्छ । भोलि बिहानबाट मात्र मौसममा क्रमिक सुधार हुँदै जानेछ”, उनले भने । देशको पूर्वको तुलनामा पश्चिममा मौसम सुधारको बढी सम्भाना रहेको मौसमविद् झाको भनाइ छ । सुदूरपश्चिम र कर्णाली प्रदेशबाट विस्तारै मौसममा सुधार हुँदै जाने तर पूर्वमा भने अझै केही दिन आंशिक बदलीको सम्भावना छ ।

भारतको झारखण्ड आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले लुम्बिनी प्रदेशदेखि पूर्वतर्फ तीन दिनयता वर्षा भइरहेको छ । गत २४ घण्टामा सबैभन्दा बढी वर्षा लुम्बिनी, गण्डकी र बागमती प्रदेशका जिल्लाहरुमा रेकर्ड भएको छ । सबैभन्दा बढी पाल्पाको अर्चले र कुमालगाउँमा २०० मिलिमिटर वर्षा मापन भएको उनको भनाइ छ । यस्तै, दाङको बेलझुण्डी र मनिकापुर, ललितपुरको लेले, नवलपुरको गैंडाकोट र चितवनमा पनि भारी वर्षा मापन भएको छ । धान काट्ने र भित्र्याउने समयमा भएको वर्षाले किसानहरुलाई समस्या भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर