अपहरण तथा बन्धक बनाएको आरोपमा दुई जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ गोङ्गबु नयाँबसपार्कस्थित ‘द बर्गर हाउस’ मा एक जना युवकलाई अपहरण तथा बन्धक बनाई राखेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे तेमाल गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका बौद्ध बस्ने अन्दाजी ३६ वर्षीय आशालाल लामा तथा काभ्रे रोशी गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौं सामाखुशी बस्ने अन्दाजी ३३ वर्षीय भोज लामा रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

उनका अनुसार काभ्रेको तेमाल–७ स्थायी घर भई हाल भक्तपुर राधेराधे बस्ने अन्दाजी २५ वर्षीय देवसिंह लामालाई काठमाडौं महानगरपालका–२६ गोङ्गबु नयाँ बसपार्कस्थित ‘द बर्गर हाउस’मा अपहरण तथा बन्धक बनाइ राखेको भन्ने उजुरीका आधारमा निजहरुलाई पक्राउ गरिएको हो । नयाँ बसपार्कस्थित ‘द बर्गर हाउस’ बाट प्रहरी निरीक्षक राजन ढकाल नेतृत्वको सात जनाको टोलीले देवसिंह लामालाई अपहरण मुक्त गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुङ्गेलले बताए । आरोपितविरुद्ध जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर