बङ्गलादेशमा डेंगुबाट एक हजारको मृत्यु

काठमाडौं । बङ्गलादेशमा यस वर्षको सुरुदेखि हालसम्म डेंगुबाट एक हजारभन्दा बढी मानिसको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ । लामखुट्टेबाट हुने यो रोगलाई मुलुकको सबैभन्दा खराब प्रकोप मानिएको छ । डेंगुबाट उच्च ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, मांसपेशी दुख्ने र सबैभन्दा गम्भीररूपमा रक्तस्राव हुन्छ । अत्यधिक रक्तस्राबका कारण मानिसको मृत्युसमेत हुन सक्छ ।

विश्व स्वास्थ्य सङ्गठनले लामखुट्टेबाट सर्ने डेंगुसहित चिकुङ्गुन्या, पहेँलो ज्वर र जिका जस्ता रोगहरू जलवायु परिवर्तनका कारण छोटो र थप फैलिरहेको चेतावनी दिएको छ । बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार राति प्रकाशित गरेको तथ्याङ्कअनुसार डेंगुबाट दुई लाखभन्दा बढी सङ्क्रमित हुँदा एक हजार छ जनाको मृत्यु भइसकेको छ ।

महानिर्देशनालयका पूर्वनिर्देशक बे–नजिर अहमदले सन् २००० पछिको प्रत्येक वर्षको तुलनामा डेंगुबाट मर्नेहरूको सङ्ख्या यस वर्ष उच्च रहेको बताए । “यो बङ्गलादेश र विश्व दुवैमा ठुलो स्वास्थ्य घटना हो”, उनले भने । मृत्यु हुनेहरूमा शिशुसहित १५ वर्षमुनिका एक सय १२ बालबालिका रहेका छन् । यो आँकडा सन् २०२२ को तुलनामा कम हो । सो वर्ष डेंगुबाट दुई सय ८१ बालबालिकाको मृत्यु भएको थियो ।

यस वर्षको मनसुनमा भएको अनियमित वर्षाका साथै उष्ण तापक्रमका कारण लामखुट्टेहरूको प्रजननमा उचित वातावरण भएकाले डेंगुको प्रकोप बढेको वैज्ञानिकहरूले बताएका छन् । सन् १९६० को दशकबाट बङ्गलादेशमा डेंगुका केसहरू देखिए पनि उसले सन् २००० देखि यो रोगको प्रकोपको तथ्याङ्क राख्न थालेको हो । डेंगुका धेरैजसो प्रकोप मनसुनका बेला जुलाईदेखि सेप्टेम्बरसम्म देखिन्छन् तर बङ्गलादेशका अस्पतालहरूले हालैका वर्षमा जाडो महिनामा पनि यस रोगका बिरामीहरूलाई भर्ना गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रिएससले सेप्टेम्बर महिनामा डेंगुको प्रकोपले बङ्गलादेशको प्रणालीमा ठुलो दबाब दिएको बताएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर