अबको व्यवस्था राजासहितको प्रजातन्त्र : थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्थासहितको प्रजातन्त्र र सनातन हिन्दु अधिराज्य ल्याउनका लागि तेस्रो जनआन्दोलन शुरु गरेको बताएका छन्।

वीरगन्जमा आइतबार आयोजना गरेको आमसभामा बोल्दै राप्रपा नेपालका अध्यक्ष थापाले संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट व्यवस्था र शासकहरुबाट मुक्तिको लागि विकल्पमा राजा सहितको प्रजातान्त्रिक व्यवस्था ल्याउन आन्दोलन शुरु गरेको बताएका हुन्।

राजसंस्था, हिन्दु राष्ट्र ल्याउन र जनताले चुनेको प्रधानमन्त्रीबाट देशको आर्थिक समृद्धि गर्ने राप्रपा नेपालको मुख्य उद्देश्य रहेको थापाले बताए। राष्ट्रियता र एकताको प्रतीकको रुपमा राजसंस्थालाई कायम राख्न सक्यौं भने यो देशको अस्तित्व शान्ति र आर्थिक समृद्धि सुनिश्चित हुने भएकोले राजालाई पनि ठाउँ दिनुपर्छ भन्ने माग गर्नु परेकाे पनि उनकाे भनाइ छ। राजादेखि माओवादीदेखि सबै अटाउने व्यावस्था नै नेपालको आर्थिक समृद्धिको मूल आधार भएकाले कसैलाई निषेध नगरी राजसंस्था सहितको प्रजातन्त्र ल्याउन सम्भव भएको बताए।

देशको भूराजनीतिक अवस्था, धार्मिक सांस्कृतिक परिवेशले पनि राजनीति भन्दामाथि एउटा संस्था आवश्यक हुन्छ भन्ने विगत १७-१८ बर्षको राजनीतिक व्यावस्थाले आवश्यकता औल्याएकोले अब राजसंस्था र हिन्दु राष्ट्र स्थापना गरि राजासहितको प्रजातन्त्रको पुन:स्थापना गर्नुपर्ने उनकाे जिकिर छ। गणतन्त्र स्थापनापछि बनेका तीनवटै राष्ट्रपति राष्ट्रको पति हुन नसकेको तर्क गर्दै थापाले पार्टीको राष्ट्रपति होइन, देश र जनताको राष्ट्र प्रमुखको आवश्यकता भएकोले राजसंस्थालाई पुर्नस्थापना हुनुपर्छ भन्ने मान्यता लिएर आएको बताए।

प्रधानमन्त्री बनाउँदा र हटाउँदा विदेशीको इशारामा बन्ने गरेको दृष्टान्त प्रस्तुत गर्दै थापाले जनताले देशको प्रधानमन्त्री जस्तो नलागेको दावी गरेका छन्। अबको व्यवस्था राजा अभिभावक र जनताले आफैंले भोट हालेर जिताएको प्रधानमन्त्री चाहिएकोले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने थापाको भनाइ थियो।

सरकार आफैं तस्करी र भ्रष्टाचारीमा लागेको बताउदै यसको अन्त्य गर्न यो सरकारले नसक्ने ठोकुवासमेत गरे। राजनीतिक नेताहरुको अकर्मण्यताले गर्दा लाखौ युवाहरु विदेश पलायन हुन बाध्य भएको उनकाे भनाइ छ। राप्रपा नेपाल पर्साका अध्यक्ष नरेश साहको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष राजिव पराजुली, उपाध्यक्ष तारानाथ लुईँटेल, वरिष्ठ नेता बिष्णु भट्टराई महामन्त्री राजाराम बर्तौला,शम्भु चौरशियालगायतले बोलेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर