नेपाल एसियाड क्रिकेटको क्वार्टर फाइनलमा प्रवेश

काठमाडौं । नेपाल १९औं एसियाली खेलकुद (एसियाड) को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा आइतबार भएको खेलमा नेपालले माल्दिभ्सलाई एक सय ३८ रनले हरायो ।

जितका लागि नेपालले दिएको दुई सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९।४ ओभरमा सबै विकेटको क्षतिमा ७४ रनमा समेटिएको थियो । माल्दिभ्सका लागि मुआभिथा गानीले सर्वाधिक ३६ रन बनाए । रसिद रसमले १२ र फ्रेड सिउसले १० रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

माल्दिभ्सलाई सस्तैमा समेट्न बलिङमा नेपालका अविनाश बोहराले ६ विकेट लिए । उनले ३.४ ओभरमा ११ रन खर्चिएर उक्त विकेट लिएको हो । अविनाश टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एउटै खेलमा ६ विकेट लिने पहिलो नेपाली खेलाडीसमेत बने ।

सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा दुई सय १२ रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्ल र कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे । रोहितले २७ बलमा तीन चौका र तीन छक्कासहित सर्वाधिक ५२ रन बनाए ।
कुशलले २० बलमा तीन चौका र तीन छक्कासहित अविजित ४७ रन बनाए । कुशल भुर्तेल र गुलशन झाले समान ३५३५ तथा विनोद भण्डारीले १३ रन बनाए ।

बलिङमा माल्दिभ्सका बदिउ इस्माइल नवाजले तीन विकेट लिए । नासिर नेल इस्माली, मोहमेद मिउभान र थोलाल मोहमद रायले एक एक विकेट लिए ।

समूह ए बाट प्रतिस्पर्धा गरेको नेपालले यसअघि पहिलो खेलमा मङ्गोलियामाथि दुई सय ७३ रनको विश्व कीर्तिमानी जित निकालेको थियो । अब नेपालले क्वार्टरफाइनलमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशमध्ये एक टोलीसँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर