गौहत्याको बिरोधमा जनकपुरमा प्रदर्शन

काठमाडौं । गौहत्याको बिरोधमा जनकपुरमा पनि प्रदर्शन गरिएको छ । देशका विभिन्नमा भागमा गौहत्या भइरहँदा पनि सरकार मौन रहेको भन्दै साधुसन्तहरुले शुक्रवार जनकपुरमा र्यालीसहितको विरोध प्रदर्शन गरेका हुन । गौहत्या जस्तो अराजकता बन्द गर्नका लागि आफूहरुले सरकारको ध्यानाकर्षण गराउन सो बिरोध प्रदर्शन गर्नु परेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए । उनले गौहत्या गर्नेमाथि सरकारले कारबाही नगरेसम्म आफूहरुको विरोध प्रदर्शन जारी रहने चेतावनी समेत दिए ।
महन्थ वैष्णवले भने, ‘८४ प्रतिशत यो हिन्दुको देशमा एउटा अराजकतास्थिति दुुईदेखि गरिराखेका छन गौहत्या । तर सरकारको यसमा ध्यानाकर्षण जुन ढंगले हुनुपर्ने थियो, त्यो भइराखेको छैन । यसैको बिरोधमा हामी जनकपुरधाममा बिरोध र्याली निकालेका हौं । गौहत्या बन्द गर्नुपर्छ । गौ हाम्रो सनातनको देउता हो । मातातुल्य हो । यसमा सरकारले कारबाही नगरेपछि हामीले विरोध र्याली निकालेको हो । गौ हत्या बन्द भएन, कारबाही भएन भने हामी निरन्तर आन्दोलन गर्नेछौं ।’
जानकी मन्दिरबाट निकालिएको सो र्याली नगरको विभिन्न भागको परिक्रमा गर्दै राम मन्दिर पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा गौहत्या बन्द गर, गौहत्या गर्नेलाई फाँसी दे, हिन्दु राष्ट्र कायम गर लगायतका नाराहरु लगाइएको थियो ।