मध्यपुर थिमिमा शुक्रबार राति जिब्रो छेड्ने जात्रा हुने

भक्तपुर।  भक्तपुरको मध्यपुर थिमिमा शुक्रबार राति जिब्रो छेड्ने जात्रा हुने भएको छ। प्रत्येक वर्ष येंया पुन्हिया मेंय् प्वाः खनेगु जात्रा हुने गर्दछ। जात्राको क्रममा जिब्रो छेड्ने स्थान मध्यपुर थिमि नगरपालिका–५ दिगु टोलस्थित दिगुभैरव मन्दिर अगाडिको डबाली हुने गर्दछ। विस्केटमा हुने जिब्रो छेड्ने जात्रा दिउँंसो हुने गरे पनि यहाँं भने राति मात्रै जात्रा हुने गर्दछ।

यसवर्ष मध्यपुर थिमि नगरपालिका–५ चोडे टोल निवासी बालकराम नानी श्रेष्ठले दोस्रोपटक जिब्रो छेड्ने साहसिक कार्य गर्दैछन्। यसअघि उनले पहिलोपटक २०७५ सालमा जिब्रो छेडेका हुन्। जिब्रो छेड्ने दिन जिब्रो छेड्ने व्यक्तिले दुता नं (जामा) लगाएर बालकुमारीमा पूजा गरिन्छ। यो दिन जिब्रो छेड्ने व्यक्ति मौन व्रत बस्नु पर्दछ।

जिब्रो छेड्ने दिनमै बेलुकापख साँझ बालकुमारीदेखि दिगु भैरवसम्मको स्थानमा बत्ती दिन गइन्छ। त्यहाँबाट आइसकेपछि दिगुभैरव मन्दिरमा गुरु ९जामनः थरका व्यक्ति० को उपस्थितिमा भैरवको पूजा गरिन्छ। यो पूजा पश्चात् जिब्रो छेड्ने व्यक्तिमा दैवी शक्ति प्राप्त हुने जनविश्वास रहेको छ। त्यहाँबाट जिब्रो छेड्नेलाई दुई जनाले समाई भैरव सामुन्ने मुख फर्काई उल्टो हिडाइँ डबलीमा पुर्‍याइन्छ।

सयौं जनमानस सामु जामनः गुरु, नायःपमा, नकर्मी नाईकेको उपस्थितिमा नकर्मीले बनाएको १० इन्च लामो सुईरोबाट कमी नायोले जिब्रो छेडाउने काम हुन्छ । जिब्रो छेडेपछि झण्डै ४० किलोग्रामको भ्ये (महादीप ) बोक्न लगाई उसको इच्छाअनुसार नगरपरिक्रमा गराउने गर्दछ ।

यसवर्ष जिब्रो छेड्ने व्यक्ति बालकराम नानी श्रेष्ठले जिब्रो छेडिसकेपछि पशुपति जान इच्छा गरेकाले उनको इच्छाअनुसार राति नै पैदल पशुपति जानेछन् । जिब्रो छेडिसकेपछि यसवर्ष मध्यपुर थिमि नगरपालिका–५ दिगुटोलबाट चोडे टोलको कामदेव, महालक्ष्मी, नीलवर्ष गणेश मन्दिर दर्शनसँंगै सिद्धिकाली माईको मन्दिर भई सिद्धिकाली चोक पुग्नेछ ।

त्यहाँंबाट पुनः सानोठिमी, सिनामंगल, महादेव चोक हुँंदै एअरपोर्ट १० नम्बर गेट, सान बैंक्वेट चोक हुँदै एअरपोर्टसँंगैको बाटो हुँंदै गुहेश्वरी मन्दिर दर्शन गरी पशुपतिनाथ दर्शन गर्ने र सोही बाटो भई मध्यपुर थिमि फर्कने कार्यक्रम तालिका रहेको जात्रा व्यवस्थापन समितिका संयोजक चन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

राति नै पैदल हिँडेर हुने यो यात्रा आवतजावत गरी कुल मध्यपुर थिमिदेखि काठमाडौंसम्म मात्रै १७ किलोमिटर रहेको जनाइएको छ । इच्छाएको ठाँउमा परिक्रमा गरेपछि मध्यपुर थिमिको बालकुमारी मन्दिरमा पुगी कमी नायोले सुइरो निकालिन्छ । सुइरो निकालिसकेपछि जिब्रोमा भएको प्वालमा नासः द्यः (नित्यनाथ) देवतापरिसरको माटो राखिदिन्छ ।

मन्दिर परिसरमा ठोकेको सुइरोको प्रकृति हेर्दा ३५० वर्षभन्दा पहिलादेखि नै जिब्रो छेड्ने जात्रा सुरु भएको र एकै वर्षमा १७ जना व्यक्तिले जिब्रो छेडेको देखिएको बताइएको छ । बालकुमारी मन्दिर परिसरमा सुइरो निकालिसकेपछि घर गई मान्यजनबाट सगुन लिने गरिन्छ ।

त्यसपछि जात्रामा सहभागी व्यक्तिहरुलाई भोज खुवाइन्छ । भोज खाइसकेपछि पूर्णिमाको भोलिपल्टको बिहान नातु पूजा भनी जिब्रो छेडेको सुइरोलाई बालकुमारी मन्दिरभित्र ठोकिन्छ र द्यः लित तवनेगु भनी विसर्जन पूजा गर्न गरिन्छ ।

जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार पहिला चाँगुनारायण तथा पशुपतिसम्म पनि परिक्रमाका लागि गएको पाइएको छ । यस ऐतिहासिक जात्रा २०२६ सालदेखि लुप्त भइसकेको थियो । यस्तो अवस्थामा पुनः सञ्चालन गर्न वि.सं. २०५० सालबाट मध्यपुर थिमि चोडे टोल निवासी कृष्णनानी श्रेष्ठले ३ पटक जिब्रो छेडेर जात्रालाई जीवन्त गरेका थिए । जिब्रो छेड्ने जात्राका क्रममा थुप्रै व्यक्तिहरुलाई भोज खुवाउनुपर्ने तथा जात्राको प्रबन्ध पनि आफैँ मिलाउन पर्ने भएकाले थुप्रै रकमको आवश्यकता पर्ने बताइएको छ ।

आफनो जिब्रो छेड्नु अनि जात्रा खर्च पनि आफैँ मिलाउन पर्नेजस्ता विविध समस्याले गर्दा विगत २०६३ सालदेखि सञ्चालन हुन नसकेको स्थानीयले बताए।
२०७४ सालबाट स्थानीय युवा, संस्कृतिप्रेमी अग्रजहरु तथा जननिर्वाचित प्रमुखहरु सक्रिय भर्इ जात्राको सम्पादन र व्यवस्थापन गर्न येयाँ पुन्हिया मेंय् प्वाः खनेगु जात्रा व्यवस्थापन समिति गठन गरिएको थियो ।

जात्रालाई व्यवस्थित गर्ने क्रममा मध्यपुर थिमि–४ बालकुमारी निवासी वीरेन्द्रभक्त गजु श्रेष्ठले दुई पटक (बि.संं २०७४ र २०७९ ) जिब्रो छेडेर लोपोन्मुख जात्रालाई निरन्तरता दिएको थियो । जात्राको क्रममा यसवर्ष पनि नौ लाख खर्च हुने अनुमान छ । जात्राका लागि आवश्यक खर्च मध्यपुर थिमि नगरपालिकाले व्यहोरिदिने मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताए । यो वर्ष जिव्रो छेडाउने बालकराम नानी श्रेष्ठका अनुसार जिब्रो छेड्ने जात्राको लागि करिब एक महिना अगाडिदेखि नै तयारी गर्नुपर्ने हुन्छ ।

जिब्रो छेड्ने नातु (सुइरो) बनाउनका लागि करिब एक महिना अगाडि नातु बनाउने नकर्मीलाई खबर गर्ने जानु पर्दछ । नातु बनाउन खबर गर्न जादा पूजा लिएर नकर्मीको घरमा जान्छ । नकर्मीले नातु बनाइसकेपछि ३ हप्ताजति शुद्ध तोरीको तेलमा नातुलाई डुबाएर राखेको हुन्छ ।

यस जात्रामा तीनतिर भएको नातु (सुइरो) बनाएको हुन्छ । जिब्रो छेड्ने आठ दिन अगाडि द्यः दुसालेगु भनी बालकुमारी मन्दिरमा एघार वटा किसली (माटोको पालामा चामल सुपारी र सिक्का राखेको भाग) तथा रातो भालेको बलि दिएर बालकुमारीको साधना गरिन्छ । जिब्रो छेडाउँदा तत्कालीन राज्य सञ्चालकहरुको सहभागितासमेत भएका देखिएको बताइएको छ ।

जिब्रो छेड्ने जात्राको चारदिन अघि थिमिको लायकुका पःमा तत्कालीन राज्य सञ्चालकहरुले अहिले पनि हनुमानढोका दरवारमा गएर राज खड्ग लिएर जात्रामा डबलीमा राखेको हुन्छ । इन्द्र जात्राको दिनमा बालकुमारीमा रातो भालेको बलिसहितको पूजा गरी भोज खाइन्छ । त्यसैको भालिपल्ट येंया पुन्हीको दिनमा जिब्रो छेड्ने व्यक्ति मध्यपुर थिमिको श्रेष्ठ थरको नै हुनुपर्ने भएता पनि या मताः (आकाशदीप) मानन्धरहरुले बोक्नुपर्ने हुन्छ।

त्यस्तै नातु बनाउने नकर्मी थरका व्यक्ति, राजखड्ग लिन जाँदा खड्गीहरुले नाखी बाजा बजाउने र कुस्ले (कपाली) ले मुहाली बजाउने परम्परा रहेकोमा यो जात्रा सम्पूर्ण थिमिवासीको सामूहिक सहभागितामा सञ्चालन हुने जात्राको रुपमा रहने बताइयो ।

पौराणिक कथनअनुसार परापूर्वकालमा मध्यपुर थिमिका स्थानीय बासिन्दाहरुमा विभिन्न खालका रोग, डर र भयले त्रसित बनाई दिई भयभीत मानवीय मनलाई शान्ति दिलाई सुख चयनले बाँच्न दिने अभिप्रायले कल्याणी भाव भएका एक महान् मानवले आराध्येदेवी श्री बालकुमारी माईको साधन गरी उहाँको दिव्य उपदेशलाई मनन गरी थिमिवासीहरुको साथ सहयोग लिई भाद्र शुक्ल पुर्णिमाका दिन एक साहसिक निर्भिक व्यक्तिलाई फलामको सियोले जिब्रो छेडेर (मेंय् प्वाः खना) नगर परिक्रमा गराइएको थियो ।

ती साहसिक व्यक्तिले आफनो पीडालाई वास्ता नगरी थिमि भेगको मात्र होइन, आफनो बस्ती आसपासमा पनि भूतप्रेत र पिचास होलान् र तिनीहरुलाई पनि भगाउनुपर्छ, नत्र बाहिरको त्यस्ता पिचासहरु फेरि पनि दुःख देला भनी सोचेर चाँगुनारायण, गुहेश्वरी, पशुपति आदि बस्तीहरुमा भ्ये (महादीप) तथा आकाशदीप (या मता) लिई घुमेर यस नगर क्षेत्रको मानव मनलाई शान्तिको महसुस दिलाई चैनका साथ बस्न लाएको, बस्तीमा सुरक्षा र सहकाल आएको आम जनधारणा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर