चीन भ्रमण आशा गरेभन्दा धेरै सफल : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो चीन भ्रमण आशा गरेभन्दा पनि धेरै सफल भएको बताएका छन् ।

तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूले लगातार भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीनको भ्रमण के कस्तो हुन्छ भनेर अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेका बेला भ्रमण सफलताका साथ सम्पन्न भएको र आशा गरेभन्दा राम्रो भएको बताएका हुन् ।

राष्ट्रपति सी चिनफिङ, चीनका प्रधानमन्त्रीसँग सौहार्दपूर्ण छलफल भई नेपालको हितमा विभिन्न समझदारीहरू गर्नुले चीनले नेपाललाई विशेष महत्त्वका साथ हेरेको पुष्टि भएको प्रधानमन्त्रीको भनाइ छ । भ्रमणका क्रममा नेपाल र चीनबीचका विगतमा बन्द भएका सबै नाका सञ्चालन गर्ने, परम्परादेखि पासका रूपमा चल्दै आएका साना–साना नाकाहरू पनि सबै सञ्चालन गर्ने सहमति भएको प्रधानमन्त्रीले जानकारी दिए । विगतमा सञ्चालन भएका प्रायः सबै नाकाहरू खुलिसकेका र बाँकी रहेका साना ठुला सबै नाकाहरू छिट्टै खुल्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीचका सबै नाकाहरू खुलेपछि नेपाल चीनको व्यापार व्यवसायका क्षेत्रमा नयाँ फड्को मार्ने उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले अघिल्लो पटक आफूले ल्हासाको भ्रमण गर्दा नेपाली महावाणिज्य दूतावासको भवन पुरानो रहेकोमा अहिले नयाँ भवन बनेको देखेर खुसी लागेको भन्दै नयाँ भवनको उपयोग गर्दै नयाँ उत्साहका साथ काम गर्न महावाणिज्यदूत र दूतावासका सबै कर्मचारीलाई निर्देशन दिए ।

उनले नेपाल–चीनबीच भएका सहमति तथा सम्झौताहरू कार्यान्वयनका लागि सक्रिय रहन महावाणिज्यदूतलाई विशेष निर्देशन दिए । कार्यक्रममा ल्हासाका लागि नेपाली महावाणिज्यदूत नवराज ढकालले नेपाल चीन सम्बन्धमा ल्हासाको भूमिका र महत्त्व, महावाणिज्य दूतावासले गरिरहेको काम तथा अब गर्नुपर्ने महत्त्वपूर्ण कामहरू र भोगिरहेको समस्या लगायतका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर