मंगलबार शेयरबजारको उकालो यात्रा

काठमाडौं । शेयरबजार १८.४५ अंकले बढेको छ । सोमबार ५.८९ अंकले घटेको नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) मंगलबार १८.४५ अंकले बढ्दै २०२२.९१ बिन्दुमा पुगेको छ । हाल शेयर बजारमा २००० अंकको बिन्दुलाई लगानीकर्ताको मनोवैज्ञानिक बिन्दु भन्ने गरिन्छ ।

आज नेप्सेमा कारोबार रकम पनि बढेको छ । सोमबार एक अर्ब ५६ करोड ५५ लाख रुपैयाँबराबरको कारोबार भएको थियो । आज २ अर्ब ९ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका १९० कम्पनीको शेयरमूल्य बढेको छ भने ३९ कम्पनीकोे शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

पूँजीबजार चलायमान हुन नसकेका बेला केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालबीच सोमबार बेलुकी भेटवार्ता भएको थियो । गभर्नर अधिकारीलाई भेट्न हमाल सोमबार राष्ट्र बैंक नै पुगेका थिए । भेटघाटका क्रममा अधिकारी र हमालबीच बैंकले बढाइरहेको ब्याजदर, शेयर धितो कर्जा सीमा, प्राइभेट इक्विटी र भेञ्‍चर क्यापिटल लगायतबारे छलफल भएको थियो । बैंक तथा वित्त क्षेत्रका यी मामिला केन्द्रीय बैंक र पूँजीबजार नियामक दुबै जोडिने क्षेत्र हो ।

अधिकारी र हमालबीच शेयर धितो कर्जामा १२ करोड रुपैयाँको सीमा बढाउने विषयमा पनि कुराकानी भएको खबर बाहिरिएपछि शेयर कारोबारी र लगानीकर्ताहरू उत्साहित देखिएका हुन्‌ । अहिले शेयरमा लगानीका लागि बैंक तथा वित्तीय संस्थाले बढीमा १२ करोड रुपैयाँसम्म कर्जा दिने गरेका छन्‌ । यो कर्जाको आकार बढाउँदा बैंक तथा वित्तीय संस्थामा रहेको तरलता (लगानीयोग्य रकम) परिचालन हुने र शेयर बजार बढ्ने दाबी गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर